Shittalpati
रामपुरमा तेस्रो मेयर कप सुरु, खुल्ला म्याराथुनको उपाधि सन्दिपलाई

इमान सिं राना

पाल्पा (रामपुर)

जिल्लाको रामपुरमा तेस्रो मेयर कप सुरु भएको छ । “उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान” भन्ने मूल नाराका साथ रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा बुधबारदेखि मेयर कप सुरु भएको हो । मेयर कपको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल राष्ट्रलाई चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । खेलले व्यक्तिलाई भविष्य सुन्दर बनाउनुका साथै राष्ट्रको शिर उच्च राख्न सहयोग गर्ने बताए । युवाहरुलाई अनुशासित, सिर्जनशिल र मेहेनेती बनाउन र सकारात्मक मार्गमा हिडाउन खेलकुदको अहम भुमिका उनले हुने बताए । उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले खेल हारजित मात्र नभई युवाहरुको एकता र भातृत्वको विकासको आधार भएको बताईन ।

प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, १ का वडा अध्यक्ष मित्रलाल कंडेल, कार्यपालिकाका सदस्य दुर्गादेवी भण्डारी गौतम, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई,नगरपालिकाका सल्लाहाकार देवराज ढकाल र जिल्ला खेलकुद विकास समितिका सदस्य कमल सेन लगायतले सफलताको शुभकामना दिएका थिए । समितिका अध्यक्ष शंकर बहादुर खाँणले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए । उनले पुरुष भलिबलमा १० वटै वडा, उपमेयर महिला भलिबलमा ७ वडा, पुरुष फुटबलमा ९ वटा वडा, पुरुष क्रिकेटमा ६ वडाले सहभागिता जनाएका छन् । समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षता, उपाध्यक्ष मनीरत्न खाँणको स्वागत, महासचिव राजु गुरुङ र सचिव सञ्जु परियारको सञ्चालनमा कार्यक्रम भएको थियो । ७ विद्यामा हुने प्रतियोगिता माघ १८ गते सम्म सञ्चालन हुनेछ ।

खुल्ला म्याराथुनको उपाधि सन्दिपलाई

यस्तै तेस्रो मेयर कप अन्तर्गत भएको खुल्ला म्याराथुन प्रतियोगिताको उपाधि रामपुर ३ का सन्दिप श्रेष्ठले हात पारेका छन् । १० किलोमिटर लामो म्याराथुनमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन । उनले निर्धारित दुरी ३७ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा ३७ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै रामपुर ६ का मनोज क्षेत्री द्वितिय, ३९ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै रामपुर ६ का सुरेश कुमाल तृतिय, ४० मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै रामपुर २ का सागर कुमाल सान्त्वना भएका छन् । रामपुर ७ विपी पार्कदेखि विजयपुर, तालपोखरा, भम्बक, मटेरी ठूलोटार, बाँङ्गेपसल रोड, बेझाँड बजार हुँदै किसानबारी पुगेर सकिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update