Shittalpati
शहिद स्मारक लिगमा मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं, मछिन्द्र क्लव शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । थ्रीस्टार क्लवलाई २–० ले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जीतमा रेजिन सुब्बा र विशाल राई बीले गोल गरे । पहिलो हाफमा मछिन्द्रले दुई राम्रो अवसर पाएको थियो । जसमा एउटा गोल भयो । खेलको ३७ औं मिनेटमा रेजिन सुब्बाले सुजल श्रेष्ठको पासमा पेनाल्टी बक्स भित्रबाट गोल गर्दै अग्रता दिलाए ।

रेजिन २८ औं मिनेटमा दीपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए । तीन मिनेटपछि रेजिनले अग्रता दोब्बर पार्ने अवसर पाए पनि थ्रीस्टारका विक्रम लामा बाधक बने । विशाल राई बीको फ्रिकिकमा रेजिनले पेनाल्टी बक्सबाट गोलकिपर बिट भइसकेको अवस्थामा गरेको हेडर विक्रमले गोललाइनबाट बचाए ।

दोस्रो हाफमा थ्री स्टारले दबाब बनाए पनि गोल गर्न सकेन । मछिन्द्रले एक गोल थप्यो । ९० औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रको जीत पक्का गरे । थ्री स्टारको डिफेन्स र गोलकिपरले क्लियर गर्न नसकेको बल विशालले गोल गरे । जीतपछि ९ खेलबाट १९ अंक जोड्दै मछिन्द्र शीर्ष स्थानमा उक्लेको छ । मछिन्द्रले एक खेल कम खेलेको आर्मीलाई २ अंकले पछि पारेको हो । थ्रीस्टारको ९ खेलबाट १४ अंक छ । गोल अन्तरमा नेपाल पुलिससंग पछि पर्दै पाँचौंमा झरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update