Shittalpati
अन्तर प्रदेश क्रिकेट स्थगित

काठमाडौं, मनमोहन मोमोरियल अन्तर प्रदेश कप यू १६ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) र त्यसले उत्पन्न गरेको त्रासका कारण प्रतियोगिता स्थगित भएको हो । विषम परिस्थितिका कारण प्रतियोगिता स्थगित गर्नुपरेको मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।

विज्ञप्ती जारी गर्दै अध्यक्ष गैरेले निर्धारित मितिमा प्रतियोगिता गर्न असमर्थ रहेको जनाउँदै अहिलेको अवस्था देश लकडाउनमा रहेको र सामाजिक दुरी कायम राख्नुपर्ने भएकाले पनि प्रतियोगिता गर्न नसकिने जनाएका छन् । ‘कोभिड १९ को त्रासले हाम्रो मुलुक लकडाउनको अवस्थामा छ । जसका कारण सम्पूर्ण गतिविधि लगभग ठप्प भएको अवस्थामा खेलकुद पनि यसबाट अछुतो रहने कुरै भएन । जसको असरले हाम्रो प्रतियोगितालाई प्रत्यक्ष असर पुग्यो ।’ गैरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘त्यस्तै मुलुक लकडाउनको अवस्थामा रहेको र सामाजिक दुरी पनि कायम गर्नुपर्ने भएकाले यसपटक प्रतियोगिता गर्न हामीले पनि उपयुक्त ठानेनौं र स्थगित गर्ने निर्णय गरेको जानकारी गराउँदछौं ।’ मुलकमा आइपरेको विषम परिस्थितिका कारण यस वर्ष प्रतियोगिता गर्न नसके पनि आगामी वर्ष यो प्रतियोगिताले निरन्तरता दिने उल्लेख गरिएको छ । नेपाली क्रिकेटको भविष्य बोकेका १६ वर्ष मुनिका किशोरहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरेको यो प्रतियोगिताका २ संस्करण भने भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update