Shittalpati
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई

पाल्पा, नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । पहिलो संस्करणको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उसले उपाधि हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो । जितका लागि १ सय ३४ रन पछ्याएको विराटनगर कहिले पनि लक्ष्यतर्फ अग्रसर देखिएन । विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई/दुई विकेट लिए भने किशोर महतो र विपुल शर्माले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियोे । लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए ।

विरानगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए । विरानगरका नन्दन यादव र राज नाननले समान दुई/दुई विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक÷एक विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो ।

प्रतियोगिताको विजेता लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता विराटनगरले ३० लाख तथा तेस्रो जनकपुरले १० लाख प्राप्त गरे । चौथो काठमाडौंले पाँच लाख पाएको छ । सर्वोत्कृष्ट खेलाडीले पाँच लाख, विधागत उत्कृष्टले दुई लाख ५० हजार र इमिर्जिङ खेलाडीले एक लाख ८० हजार प्राप्त गरे । यही पुस ९ देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update