Shittalpati
नेपाली सेनाद्वारा कोभिड–१९ रेस्पोन्स एप्प–नेपाल प्रयोगमा

काठमाडौँ, (रासस): नेपाली सेनाले जनताबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले कोभिड–१९ रेस्पोन्स एप्प–नेपाल प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को प्रभाव नेपालमा देखिएको र फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने उद्देश्यले एप्प तयार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मोबाइल एप्पको नाम कोभिड–१९ रस्पोन्स एप्प–नेपाल (सिआरएएन) दिइएको छ । उक्त एप्पको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार र समाजमा कोभिड–१९ सम्बन्धी कुनै पनि लक्षण देखिएमा विवरण पठाउन मिल्ने व्यवस्था गरिएको जानकारी दिइएको छ । एप्पबाट प्राप्त हुने तथ्याङ्कलाई सेनाले आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ । उक्त एप्प सेनाको आधिकारीक वेबसाइट http://www.nepalarm.mil.np बाट डाउनलोड गर्न सकिनेछ । हाललाई यो एप्प एन्ड्रोइड मोबाइल फोनका लागि मात्र तयार गरिएको र केही दिनमा नै एप्पल मोबाइल फोनका लागि पनि तयार हुनेछ । बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितिमा परिवर्तन आएमा सोको विवरण पुनः अध्यावधिक गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update