Shittalpati
डेढ वर्षपछि लुम्बिनी प्रदेशसभा संसदीय समितिमा नेतृत्व

लुम्बिनी, लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले बल्ल नेतृत्व पाएका छन् । प्रदेशसभामा रहेका सात विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका चार समितिमा बिहीबार सभापति निर्वाचित भएका छन् ।

रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वर्पूण समिति मानिने सार्वजनिक लेखासमितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ । उक्त समितिको सभापतिमा एमालेका प्रदेशसभा सदस्य रहेका विष्णु पन्थी निर्वाचित भएका छन् । यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी यस समितिको सभापति थिए । नेकपा नेतृत्वको सरकारपछि बनेको गठबन्धन सरकारमा उनी सहरी विकास तथा पर्यटनमन्त्री बनेपछि यो समिति नेतृत्व विहीन बन्न पुगेको हो । यससँगै अन्य दुई समितिको नेतृत्व पनि एमालेले पाएको छ । एमालेले कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । उनले विषयगत समितिमा नेतृत्व आफूहरुले विगतदेखि नै सहमतिका आधारमा चयन गर्न राखेको प्रस्ताव सत्तापक्षले बल्ल स्वीकार गरेको बताए ।

यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले प्रदेशसभा सदस्यबाट राजीनामा गरेर नेपाली काँग्रेसमा प्रवेश गरेपछि सो पदसमेत रिक्त रहदै आएको थियो । प्रदेशसभाबाट राजीनामा गरेका पाण्डे केही समयमै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । साथै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव तत्कालीन नेकपा विभाजन पश्चात बनेको शंकर पोखरेल नेतृत्वको सरकारमा जनता समाजवादीका तर्फबाट मन्त्री बनेपछि उक्त समितिको सभापति पनि रिक्त रहेको थियो । यस्तै सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् । सो दलको प्रदेशसभामा प्रतिनिधित्व गर्ने तारा जिसी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा निर्वाचित भएकी छन् । प्रदेशसभामा राजमोका एक जना मात्र सदस्य छन् । यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने नेकपा विभाजनमा एमालेमा लागेकाले माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्यबाट कारवाही गर्न सिफारिस गरेकाले सो पद रिक्त रहँदै आएको थियो । सार्वजनिक लेखामितिको सदस्यमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा रहेका छन् । प्रदेशसभामा ती समितिको निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम अनुसार सबै समितिमा एकल उम्मेदारी परेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । –रासस

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update