Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु

पाल्पा,  लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेशको बाँके, रुपन्देही, बर्दिया, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा एक दम्पती मृत फेला परेका छन् । सोही ठाउँका मम्मु भन्ने २२ वर्षीय कृष्ण गडरिया र उनकै श्रीमती २१ वर्षीया अञ्जली गडरिया आफ्नै घरमा सोमबार राति मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । स्रोतका अनुसार ति दम्पतीले राजमार्ग छेउमा होटल सञ्चालन गर्दै आएका थिए । नेपालगञ्ज कोहलपुरको व्यस्त राजमार्गको छेउमै होटल व्यवसाय गर्दै आएका दम्पतीको हत्या भएको हुन सक्ने जनाइएको छ । कसले र किन गर्यो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गडेरियाका बुबा–आमा तीर्थ गएको मौका छोपी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या गरिएका कृष्णकुमारका दाजु–भाउजु माथिल्लो तलामा सुतेकाले घटना भएको थाहा नपाएको बताएका छन् । प्रहरीले दुवै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा पठाएको छ ।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोलारको चम्कीपुरस्थित कुलोमा डवेर एक कृद्धाको ज्यान गएको छ । सोही ठाउँकी ८७ वर्षीया मनरूपी थापा मगरको फुल टिप्ने क्रममा कुलोमा डुबेर ज्यान गएको हो । बर्दियाको मधुवन नगरपालिका–५ संगमटोलमा पनि इनारमा डुवेर एक वृद्धको ज्यान गएको छ । सोही ठाउँका ७३ वर्षीय सालिकराम देवकोटाको आफ्नै घर नजिकको ईनारमा डुबेर ज्यान गएको केन्दीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस्तै नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–२ सतपत्तीस्थित सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु.२२ प ३६७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सांगुरोपुलबाट तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार गम्भीर घाइते भएका थिए । घाइते उनको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीस्थित सडकमा पनि मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । लु.४२ प ७१३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ गंगोलियाका २२ वर्षीय विष्णु परियार गम्भीर घाइते भएका थिए । घाइते उनको लुम्बिनी एडभान्स सिटि जितगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालकको भने अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update