Shittalpati
आज राष्ट्रिय सभा निर्वाचन हुँदै, लुम्बिनीमा सत्तारुढ दल र एमालेका उम्मेदवार भिड्दै

रामचन्द्र रायमाझी
पाल्पा, आज राष्ट्रिय सभा सदस्यका लागि रिक्त रहेका स्थानमा राष्ट्रिय सभा निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको हो ।

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा हुन लागेको निर्वाचनमा सत्तारुढ दल र नेकपा एमालेका उम्मेदवारहरु चुनावी मैदानमा उत्तिएका छन् । यहाँ तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार चुनावी मैदानमा छन् । एमाले भने एक्लै चुनावी मैदानमा उत्रिएको छ । सत्तारुढ गठबन्धनबाट तीन जना उम्मेदवार चुनावमा भिडेका छन् । दलीय सहमति अनुसार नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एस (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ दलले खुलाबाट शर्मा, महिलाबाट गैरे र दलितबाट विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यस्तै एमाले दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारलाई चुानवी मैदानमा उतारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने लुम्बिनीमा कसैलाई पनि मत नदिन आफ्ना जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ । उसले प्रदेश–१ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन दिएको हो ।

मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले प्रदेश–१ मा आफ्ना उम्मेदवारलाई मतदान गर्न र अन्य प्रदेशमा आफ्नो पार्टीका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको जनाइएको छ । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा स्थानीय तहमा राप्रपाका दुई प्रमुख, उपप्रमुख मात्र रहेका छन् । यहाँ ८७ प्रदेश सभा सदस्यबाट ८१ जना र २ सय १८ मतदाता रहेको स्थानीय तहबाट २ सय १५ जनाले भोट हाल्ने छन् । जसमा काँग्रेसका ८२, माओवादी केन्द्रका ५५, एकीकृत समाजवादीका ५, जसपाका १७, जनमोर्चामा ६, राप्रपाका दुई, स्वतन्त्रका चार, एमालेका १ सय २४ जनाले मत हाल्ने छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ । यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरूको मतभार धेरै हुने देखिन्छ । जसले गर्दा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चित छ । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचन हँुदैछ । निर्वाचनका लागि १२ वटै जिल्लाका मतदाताहरु दाङ पुगेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update