Shittalpati
महिला दिवसलाई सचेतना दिवसका रुपमा मनाउन अपिल

रुपन्देही, प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवसलाई कोरोना भाइरसविरुद्धको सतर्कता र सचेतना दिवसका रुपमा मनाउन अपिल गरेका छन् । ।अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतबार शुभकामना सन्देश दिँदै मुख्य मन्त्री पोखरेलले यो वर्ष कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको जनाउदै महिला दिवसलाई सचेतना दिवसका रुपमा मनाउन अपिल गरेका हुन् ।

महिला सशक्तीकरण र आत्मसम्मान उत्सवका रुपमा विश्वमा मार्च ८ लाई मनाइने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा महिला सशक्तीकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनीतिक चेतना र जागरण विस्तारका अवसरका रुपमा मनाइँदै आएको सन्देशमा उल्लेख गरेका छन् । ‘जहानियाँ राणा शासन, निरङ्कुंश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सघङर्ष निकै अविस्मरणीय छ, ती अध्याँरा र अप्ठ्यारा दिनमा मार्च ८ को विशेष महत्व थियो’, सन्देशमा भनिएको छ ।

लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पुर्‍याउन महिला दिवसका सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले महिलाको सक्रियता, जुझारुपन र अठोटको उनले सन्देशमा हार्दिक सम्मान व्यक्त गरेका छन् । ‘अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीति हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ’, सन्देशमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले संविधानको सफल कार्यान्वयन गर्दै समतामूलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न सबै राजनीतिक दल, समुदाय, संघसंस्था र आमनागरिकमा हार्दिक अपिल गरेका छन् । साथै उनले महिला दिवसका अवसरमा सबै महिला दिदीबहिनीप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update