Shittalpati
डढेलोको चपेटामा ‘रेसुङ्गा वन’

गुल्मी, गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । मुलुक आगलागी र डढेलोको चपेटामा परेको छ । मुुलुकका धेरैजसो वनजंगलमा अहिले डढेलो लागेको छ । डढेलोबाट गुल्मीका वनजंगल पनि अछुतो रहनसकेका छैन् । हरेक वर्ष जस्तै यस वर्ष पनि गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वन डढेलोबाट बच्न सकेन । प्रत्येक वर्ष यहाँको वन डढेलोको चपेटाबाट ग्रस्त छ । केही दिनदेखि लागेको आगो अहिलेसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकिरहेको छैन । सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण आउन नसकेको हो । पटक–पटकको डढेलोबाट यहाँका करोडौ मूल्यका जडीबुटी, पशुपंक्षी र रुख विरुवाहरु सखाप भएका छन् ।

अहिले आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधी र स्थानीयहरु लागि परे नियन्त्रणमा आउन सकेका छैनन् । रेसुङ्गा वन क्षेत्र ऐतिहासिक ,धार्मिक र पर्यटकीय महत्व बोकेको क्षेत्र हो । यहाँ अरवौ मूल्य बरावरका भौतिक संरचनाहरु समेत रहेका छन् । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको डिभिजन वन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार वर्सेनि यहाँको सयौँ हेक्टर जमिनमा आगलागी हुने गरेको छ । वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । आगो नियन्त्रणमा आउन नसकेकाले बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खलेसम्मका घर वस्तीहरु जोखिममा परेका छन् । तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको यहाँको वन क्षेत्र प्रत्येक बर्ष डढेलोले सखाप बनाएको छ । समयमा पानी नपर्नु र मानिसको हेलचक्क्र्याइँले गर्दा वनमा डढेलो लाग्ने गरेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्ग र पोलेर छाड्दा होस् या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ । रेसुङ्गा क्षेत्रबाट प्रत्यक्ष लाभ उठाउने बलिथुम, गौडाकोट, तम्घास, सिमीचौर र दुबीचौर, भाडगाउँ, पराल्मी, अर्खलेका अधिकांश स्थानीय बासिन्दा भने हरेक वर्ष डढेलो लाग्दा समेत रमिते बनेर बस्ने गरेका छन् ।

प्रत्येक पटक आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यु टावर तथा यज्ञशाला लगायतका महत्वपूर्ण मन्दिर र भौतिक संरचना जोखिममा पर्ने गरका छन् । आगोलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । रेसुङ्गामा ऐतिहासिक मन्दिर, पौवालगायत संरचना रहेपनि प्रत्येक वर्ष लाग्ने आगोकोका कारण जोखिममा पर्ने गरेका छन् । लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा परेको छ । यस क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरे पनि अहिलेसम्म आगो लगाउनेलाई प्रसासनले पक्राउ गर्न सकेको छैन् । हाल जिल्लाका रेसुङ्गा सँगै दैनिक जसो १ दर्जन बढी सामुदायिक बनमा आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । जिल्लामा फागुन यता दुई हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको छ ।
–अनिल खत्रीको सहयोगमा

 

 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update