Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु

पाल्पा । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशको रुपन्देही, कपिलवस्तु, बर्दिया र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका ६ पुस्पलाल पार्क स्थित सडकमा टिपरको ठक्करबाट एक पैदाल यात्रीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ८ बस्ने ८१ वर्षीय नेत्रलाल श्रेष्ठ लु २ ख ३०४६ नं.को टिपरको ठक्करबाट घाइते भएका थिए । घाइते उनको भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ८ दोहोनीमा लु ४१ प ५५४७ नं. को मोटरसाइकल अनियन्त्रीत भई पल्टिन जाँदा चालक कपिलवस्तु मायाँदेवी गाउँपालिका १ पकडी बस्ने २२ वर्षीय डाक्टर यादव घाइते भएका थिए । घाइते उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार सोही स्थानका २५ वर्षीय बिरेन्द्र यादव समेत घाइते भएका छन् । उनको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ ।

बर्दियामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका ७ हर्नवामा सोही स्थानका ५४ वर्षीय बाबुराम थारुको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय डबल बहादुर बिकको घरमा ग्रह शान्ति गरिएका सामाग्रीहरु सेलाउन भनी घर नजिकै गएका थारु जङ्गली जनावरलाई रोक्नको लागि राखिएको नाङ्गो तारमा पर्न गई करेन्ट लागेको थियो । करेन्टर लागेर उनी घाईते भएका थिए । घाइते उनको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रोल्पामा विषादी सेवनबाट एक युवतीको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका ५ हाम्जा बस्ने शेरबहादुर रोका मगरको श्रीमती ३६ वर्षीया शर्मिला रोका मगरको नुभान नामक बिषादी सेवनबाट मृत्यु भएको हो । उनले आफ्नै घरमा कोही नभएको बेला बिषादी सेवन गरेकी थिईन् । विषादी सेवन गरेकी उनी विरामी परेपछि आफन्तले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update