Shittalpati
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० को मृत्यु

रामचन्द्र रायमाझी
पाल्पा । प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, रोल्पा, रुकुम, बाँके र कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको हो । नवलपरासी सुनवल नगरपालिका –४ बेलारीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोही स्थानका गोबिन्द थापाले आफ्नै घरको कम्पाउण्डमा पार्किङ गरी राखेको लु २ ख २२५९ नं.को टिप्पर घरबाट बाहिर निकाल्ने क्रममा अचानक आफ्नै आमा ६० वर्षीय खेम कुमारी थापालाई ठक्कर दिइ घाईते भएकी थिइन् । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ ।

यस्तै रुपन्देही देबदह नगरपालिका १० मा पनि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं.को टिपरले पूर्व पश्चिमबाट आउँदै गरेको ध १ प ९७९५ नं.स्कुटीमा सवार कपिलवस्तु नगरपालिका ४ तौलिहवा बस्ने ३३ वर्षीय प्रहरी जवान अमित श्रेष्ठको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । स्कुटरले ठक्कर दिदाँ उनी घाइते भएका थिए । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक श्रेष्ठ जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत रहेका थिए । उनको दाहिने खुटा भाँचिएको र गुपतांङमा चोट लागेको थियो । स्कुटीमा सवार अर्को एक जना घाइते भएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ४ बस्ने २३ वर्षकी प्रहरी जवान सन्तोषी थारु घाइते भएकी छन् । उनको दाहिने हात भाचिएको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै रोल्पा लुङ्ग्री गाउँपालिका १ आतेमा गोठ भत्किदा दुई बालकको मृत्यु भएको छ । ज्ञान सिह घर्तीको घरसँगै सटेको गोठ भत्किन जाँदा गोठमा सुतेका ११ वर्षका बालक र ८ वर्षका बालकको घटनास्थलमा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

रुपन्देही मर्चवारी गाउँपालिका २ जोगियाबारीस्थित डण्डा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । मुकुन्दगढ बस्ने ६५ वर्षका ठागुर पासि खोला तर्ने क्रममा डुबेर मुत्यु भएको हो । यस्तै रुपन्देही देवदह नगरपालिका ८ मा पनि पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । कालिका टोल बस्ने ६२ वर्षीयकी भिमिश्वरा चिदीलाई बाख्रा चराउने क्रममा घोडाहा खोला तर्दै गर्दा खोलाले बगाएको थियो । उनलाई स्थानीयले खोजतलास गर्दै जाँदा देबदह नगरपालिका ३ रोहिणी पुल नजिक पानीमा डुवेको अवस्थामा मृत लाश फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका ६ ढकलबारामा रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । ढकलबारा बस्ने २६ वर्षका बसन्त बोहोरा घर नजिकैको आँपको रुखबाट भूईमा खस्न जाँदा मृत्यु भएको थियो । त्यस्तै बाँके जानकी गाउँपालिका ६ कोठारपुरमा विषादी फल खाँदा एक व्यक्तिको मृत्यु भएको छ । कोठारपुर बस्ने २३ वर्षका सोभाराम बढैले श्रीमतीसंग घरायसी सामान्य वादविवाद हुँदा कन्डाईनामक फल खाई विरामी परेका थिए ।

विरामी उनको उपचारको लागि नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । बाँके नेपालगंज उपमहानगरपालिका १७ परस्पुरमा पनि विषादी फल सेवन गराई एक व्यक्तिको ज्यान लिइएको छ । रामप्रसाद रैदासको छोरा २३ वर्षका शत्रुहन रैदास आफ्नै श्रीमती लिन ससुराली गएकोमा निजको ससुरा नरेश चमारले कुटपिट गरी जवरजस्ती कन्डाई नामक फल पानीमा घोली खुवाई विरामी भएका थिए । विरामी उनको नर्सिंङ होममा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले विष खुवाउने ससुरा सहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । त्यस्तै कपिलवस्तु कृष्ण नगरपालिका ९ माडामा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । ४५ वर्षीय बिरबल चौधरीले आफ्नै घरमा श्रीमतीसँग सामान्य विवाद हुँदा सल्फास नामक बिषादी सेवन गरी विरामी परेका थिए । विरामी उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update