Shittalpati
प्रदेश पाँचले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम, कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

बुटवल । प्रदेश पाँच सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले शनिबार कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशको तीव्र आर्थिक विकास गर्ने गरी सरकारले कामहरु अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

कोरोनाको कारण उत्पन्न हुन सक्ने प्रभावलाई कम गर्ने गरी प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेशले नियमित आम्दानी हुने र नाफामूलूक क्षेत्रमा लगानी गर्ने उल्लेख गरेको छ । ‘स्वदेशी श्रम स्वदेशमै पसिना’ तथा कृषिको उत्पादन वृद्धिको लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ । कृषि उत्पादकत्व र किसानको आयमा वृद्धि गर्ने गरी स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने उल्लेख छ । स्वदेशी श्रम, स्वदेशमै पसिना कार्यक्रम अन्तर्गत कृषि उत्पादनको नीति सरकारले अलवम्बन गरेको छ । व्याज अनुदानको नीति लिइने र सुलभ कर्जा उपलब्ध गराइने कार्यक्रम सरकारको छ । स्मार्ट कृषि गाउँ कार्यक्रमलाई १ सय ९ पालिकामै विस्तार गर्ने कार्यक्रम सरकारले बनाएको छ । विदेशबाट फर्किकाहरुलाई रोजगारमा जोड्ने कार्यक्रम ल्याइने सरकारको योजना छ । कृषि मार्फत रोजगारी सिर्जना गर्ने नीति प्रदेश सरकारले लिएको छ । नयाँ कार्यक्रम थप नपर्ने, खर्चमा मितव्ययिता, अनुत्पादक खर्च कटौटी गर्न नयाँ कार्यालयका लागि बजेट बिनियोन नगरिने कार्यक्रम छ । कोरोनाले गरेको क्षति न्यूनीकरण हुने गरी स्थानीय तहलाई अनुदान दिइने नीति प्रदेश सरकारले लिइएको छ ।

प्रादेशिक अस्पताललाई विशेषत्रयुक्त बनाउने, गर्भवती महिलाको भिडियो एक्सरे निशुल्क गरिने कार्यक्रम सरकारले ल्याएको छ । दाङमा ट्रमा सेन्टर बनाइने छ । महामारीका बेला बिरामीको उपचारका लागि एक सय शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम छ । गुणस्तरीय पर्यटक आवागमन बढाउन जोड दिइने योजना प्रदेश सरकारको छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बौद्ध सर्किटका रुपमा विकास गरी पर्यटन प्रवद्र्धधन गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेशसभामा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम प्रस्तुत गर्दै यादवले कोरोनाका कारण बजेटको स्वरुप नै परिवर्तन गनुपर्ने बताए । सिद्धार्थ सडकखण्डको सिद्धबाबाको वैकल्पिक सडकका रुपमा हेरिएको चरङ्गे–झुम्सा सडकमा अर्को वर्षसम्म गाडी सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सडक पूर्वाधार, मर्मत सम्भार गर्ने, प्रदेशभित्र वैज्ञानिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी साउनभित्रै प्रदेशको राजधानी र नामाकरण तोकिने नीति कार्यक्रममा उल्लेख छ । राजधानी तोकिएपछि पूर्वाधार निर्माण थालिने योजना सरकारको छ । प्रदेश ५ को अधिवेशन शुक्रबारबाट शुरु भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  २३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update