Shittalpati
भारतसँग सिमाना जोडिएका स्थानीय तहको क्वारेन्टाइन भरिभराउ

माधव बेल्वासे

चन्द्रौटा,(रासस)ः भारतसँग सिमाना जोडिएका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भरिभराउ भएका छन् । भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न थालेपछि अहिले श्ययाको अभाव हुन थालेको छ । भारतीय सीमासँग जोडिएका कपिलवस्तको बिजयनगर गाउँपालिकाले १ सय १७ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । सो क्वारेन्टाइनमा भारतबाट आएका १ सय ३ जना राखिएको गाउँपालिकाले जनाएको छ । खुल्ला सिमानाका कारण भारतबाट भागेर आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न समस्या भइरहेको बताइएको छ । जवावैराठ, डालपुर, ठाकुरापुर लगायत विभिन्न नाका नाकाबाट थुप्रै नेपालीहरु आउने आउने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो ।

शुरुमा १६ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको थियो तर भारतबाट आउने नेपालीहरुको सङ्ख्यामा वृद्धिभएपछि श्ययाको सङ्ख्या बढाइएको उहाँले बताउनुभयो । अहिले गाउँपालिकास्थित ३ वटा माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ठाउँको अभाव हुँदा विद्यालयलाई प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । क्वारेन्टाइनमा बस्ने सबै जनाको निःशुल्क खाने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । त्यस्तै जिल्लाको शुद्धोधन गाउँपालिकाले निर्माण गरेको ६० श्ययाको क्वारेन्टाइनमा ४९ जना रहेका छन् । महाराजगञ्ज नगरपालिकाले तयार पारेको ८० श्ययामा ७० जना रहेका छन् । शिवराज नगरपालिकाले निर्माण गरेको १९ श्ययामा १५ जना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

दैनिक रुपमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या वढिरहेकाले श्यया थप गर्ने योजना रहेको उहाँले बताउनुभयो । “क्वारेन्टाइनमा अधिकांश भारतबाट फर्किएर आएका नागरिक छन्, अब नगरका अन्य तीन ठाउँमा क्वारेन्टाइन स्थापना गर्ने तयारीमा छौ”, पौडेलले भन्नुभयो, “ क्वारेन्टाइनमा बसेका सबैको अवस्था सामान्य छ ।” सीमासँग जोडिएको कृष्णनगर नगरपालिकाले पनि क्वारेन्टाइनमा श्ययाको सङ्ख्या बढाउने तयारी गरेको छ । अहिले सबै वडामा क्वारेन्टाइन कक्ष निर्माण गरेको र भारतबाट फर्किएर आउने सबै नेपालीलाई सुरक्षित तरिकाबाट उनीहरुलाई आफ्नो जिल्लामा पठाइएको नगरप्रमुख रजतप्रताप शाहले बताउनुभयो । जिल्लाका १० स्थानीय तहमा ५ सय ६ श्ययाको क्वारेन्टाइन निर्माण भएका छन् । मङ्गलबारसम्म ३ सय ७३ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुयभो । अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा ८ वटा आइसोलेशन कक्ष बनाइएको छ । क्वारेन्टाइनमा बसेको कसैलाई पनि आइसोलेशन कक्षमा राख्ने अवस्था नआएको प्रजिअ पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update