Shittalpati
पाल्पा र गुल्मीका तीन वडामा पुनर्निर्माणको कार्य सकियो

रामचन्द्र रायमाझी
पाल्पा । देशका अधिकांश जिल्लाहरुमा २०७२ सालमा गएको महाविनासकारी भूकम्पका कारण भत्किएका घरहरुको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । भूकम्पका कारण क्षति पुगेका घरहरुको काम धमाधम भइरहेको सम्बन्धित जिल्लाका पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईहरुले जनाएका छन् ।
पाल्पा र गुल्मीका ३ वटा वडाहरुमा पुनर्निर्माणको कार्य सकिएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको वडा ५ र गुल्मीको मालिका गाउँपालिका वडा ३, ४ मा घरहरुको पुनर्निर्माण कार्य सकिएको हो । पाल्पाको तिनाउ गाउँपालिकाको वडा ५ कोलडाँडालाई जिल्लाकै पहिलो पुनर्निर्माण सम्पन्न वडाको रुपमा घोषणा गरिएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाले पुनर्निर्माण भएका घरहरुको पहिचान गरी पुनर्निर्माण सम्पन्न वडाको रुपमा घोषणा गरेको हो ।

जिल्लाका ८१ वडा मध्ये पहिलो वडाको रुपमा कोलडाँडालाई घोषणा गरिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाका प्रमुख अनन्त सुनारले जानकारी दिए । सरकारले दिएको अनुदानको तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान गरी पुनर्निर्माण कार्य सम्पन्न वडा भएको घोषणा गरिएको प्रमुख सुनारले जानकारी दिए । तिनाउ ५ का ६९ जना लाभग्राहीहरुले पुनर्निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका छन् । भूकम्पका कारण वडामा ७५ घरमा क्षति पुगेको थियो । जस मध्ये ७२ घरले पुनर्निर्माणका लागि सम्झौता गरेका थिए । सम्झौता गरेका मध्ये पनि ३ जनाले घर नबनाउने निर्णय गरेपछि ६९ जनाले पुनर्निर्माणको काम गरेको कार्यान्वयन इकाईका प्रमुख सुनारले बताए । वडाका ६९ जना लाभग्राहीहरुले तीन किस्ता गरी तीन/तीन लाख बुझेका छन् ।

जिल्लामा ४ हजार ६ सय ९४ घरहरुमा भुकम्पले क्षति पु¥याएको थियो । क्षति पुगेका घरहरु मध्ये ४ हजार १ सय ३७ लाभग्राहीहरुले पुनर्निर्माणका लागि सम्झौता गरेका थिए । जसमध्ये ४ हजार १ सय २५ लाभग्राहीले पहिलो किस्ता, २ हजार २ सय ४ लाभग्राहीले दोस्रो र १ हजार ७ सय ३२ लाभग्राहीहरुले तेस्रो किस्ता बापतको रकम पाईसकेको कार्यान्वयन इकाईका प्रमुख सुनारले जानकारी दिए । वडामा भूकम्पले क्षति पु¥याएका घरहरु पुनर्निर्माण भएपछि स्थानीयहरुमा खुसी छाएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उनले भने ‘कार्यान्वयन ईकाईसँगको सहकार्यमा घरहरु समयमै निर्माण गर्न सफल भएका हौं ।’ त्यस्तै उता गुल्मीमा पनि २ वटा वडामा निजी आवास पुनर्निर्माण काम सकिएको छ । जिल्लाको मालिका गाउँपालिकाको वडा ३ र ४ मा निजि आवास तर्फको पुनर्निर्माण कार्य सकिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

गाउँपालिकाभित्र ७३ जना लाभग्राही रहेका छन् । जसमध्ये वडा नम्बर ३ मा ३ जना र वडा ४ मा १३ जना लाभग्राही रहेको कार्यान्वयन इकाईले जनाएको छ । पुर्निर्माणका लागि ७३ जना लाभग्राहीले पहिलो किस्ता, ६८ जनाले दोस्रो किस्ता र ५३ जनाले तेस्रो किस्ता प्राप्त गरेका छन् । लाभग्रहीले निजी आवास तर्फको पुनर्निर्माण गर्नुपर्ने काम पूरा गरेपछि घोषणा गरिएको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलय गुल्मीका निमित्त प्रमुख दधिराम मरासिनीले बताए । जिल्लामा ४ हजार १ सय ४४ लाभग्राहीहरु मध्ये २ हजार २ सय ४९ घरहरु मात्र निर्माण भएको तथ्यांकले देखाएको छ । जिल्लामा ३ हजार ९ सय ५५ जनाले पहिलो किस्ता, ३ हजार १ सय १८ जनाले दोस्रो किस्ता र २ हजार २ सय ८७ जना लाभग्राहीले तेस्रो किस्ता वापतको रकम प्राप्त गरेका छन् । कूल लाभग्राहीमध्ये १ सय ८९ जना सूचीमा रहेता पनि उनीहरुले सम्झौता गरेका छैनन् ।
(गुल्मीका लागि पत्रकार अनिल खत्रीको सहयोग ।)

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update