Shittalpati
पर्यटन क्षेत्रको विकासमा लाग्न सहकारीलाई आग्रह

पाल्पा । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले तानसेनका सहकारीहरुलाई पर्यटन क्षेत्रको विकासमा लाग्न आग्रह गरेका छन् । तानसेनमा भएको मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको छैठांै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले तानसेन पर्यटकीय क्षेत्रले सम्भावना बोके शहर भएकाले पनि पर्यटनको क्षेत्रमा विकास गर्न आग्रह गरेका हुन् ।

उनले पर्यटन क्षेत्रको विकासका लागि तानसेनका सहकारीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको धारणा व्यक्त गरे । एउटै उद्देश्यले अघि बढेका सहकारीहरु एकता गरेर अघि बढे सबैको भलो हुनेमा प्रमुख शाहीले जोड दिए । उनले भने ‘पैसा उठाउने र ऋण दिने काममा मात्रै सिमित नरही सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्दछ, अब सहकारीले ऋण र बचतको मात्र कारोवार गरेर पुग्दैन, सामाजिक उत्तरदायित्वसँग जोडिएर, नगरको विकासमा लगानी गर्र्नु पर्दछ ।’ प्रमुख शाहीले सहकारीमा आर्थिक रुपमा विपन्नदेखि उच्च तहका व्यक्तिहरुको समेत बराबर हैसियत रहने भएकाले नगरको आवश्यकतालाई हेरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनमा रहेका शहकारीको सहयोगले ब्यापारी व्यवसायीहरुलाई धेरै फाईदा पुगेको बताए । बैंकहरुमा ऋण लिन धेरै समस्या हुने तर सहकारीमा सेवा लिन धेरै झन्झट नहुने भएकाले पनि सहकारीमा आकर्षण बढेको उनको भनाई थियो । लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि रायमाझीले मालपोत कार्यालयमा कर्मचारीको अभाव हुँदा ऋण दिन सहकारीहरुलाई समस्या परेको गुनासो गरे । कार्यक्रममा संस्थाका सल्लाहकार रामप्रसाद श्रेष्ठ, सहकारी अभियान्ता शशि श्रेष्ठ, पत्रकार भोजराज भट्टराई, सहकारीका शेयर सदस्य चित्रवलीराम सुवाल लगायतले आ–आफ्ना धारणा राखेका थिए । सहकारीले जेष्ठ नागरिकहरु मंगोलप्रसाद मलेगो र धर्मरत्न बज्राचार्यलाई सम्मान समेत गरेको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष विनोद पन्थीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देव पचभैयाको स्वागत, सचिव शंकर भण्डारीको सञ्चालनमा कार्यक्रम
भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update