Shittalpati
नयाँ सांसदहरूको शपथ पुस ७ मा

पाल्पा, मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुुने भएको छ । संघीय संसद् सचिवालयले पुस ७ गते दिउँसो १ बजेको लागि शपथको समय निर्धारण गरेको हो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित २ सय ७५ सांसदले शपथ लिने छन् । संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको छ । जेष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती जेष्ठ सदस्यले शपथ गराउने छन् ।

शपथग्रहण कसले गराउने भन्ने बारे पनि संसद् सचिवालयले तयारी गरेको छ । निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसी र राप्रपाका नेता पशुपति शमशेर जबराको उमेर ८० वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ । उमेरका हिसाबले यी तीनजनामध्ये केसी जेष्ठ सदस्य हुन् । निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार प्रतिनिधिसभाका जेष्ठ सदस्य महिन्द्रराय यादव हुन् ।

आयोगको विवरण अनुसार यादवको उमेर ८५ वर्ष पुगेको छ । तर, निर्वाचन आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाँझिएको छ । त्यसैले नवनिर्वाचित सांसदलाई सपथ खुवाउनेबारे अन्योल देखिएको हो । शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । सोही अनुसार सोमबार समय निर्धारण गरिएको हो ।

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update