Shittalpati
आज तानसेनमा ऐतिहासिक भगवती जात्रा

पाल्पा, नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) मनाइँदै छ । यहाँ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ । सोही अनुरुप शनिबार २ सय ४ औं भगवतीको रथ निकाल्न लागिएको हो ।
विगतका दुई वर्ष कोरोना महामारीका कारण परम्परा धान्नकै लागि न्यून मानिसहरुको सहभागितामा भगवती जात्रा निकालिए पनि यस वर्ष भने मानिसहरुको व्यापक सहभागीतामा हर्सोउल्लासका साथ निकाल्न लागिएको भगवती मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्कीले बताए । उनका अनुसार दिनको ठिक १२ः३० बजेदेखि १ बजेसम्म रथ निकाल्ने साईत जुरेको छ ।
समितिले १२ः३० बजे नै रथ उठाउने तयारीमा जुटेको छ । विधिपूर्वक गरिएको पूजापछि रथयात्रामा राखिने भगवतीको ढलौटको सानो प्रतिमूर्ति र कर्णेल उजिर सिंह थापाको तरवार रथमा राखि नगरका विभिन्न भागको परिक्रमा गराई पुनः मन्दिरमा ल्याई भित्र्याउने समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्कीले बताए । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, निजामती कर्मचारी, संघ संस्थाहरुको सहभागीता रहने छ । वि.स. १८७१ देखि १८७२ सम्मको अंग्रेजसँगको युद्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.स. १८७६ देखि यो विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्वमा विजय प्राप्त गरेको थियो ।
हरेक वर्ष कुमाल समुदाय बाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवती जात्रा हेर्नका लागि गाउँ–गाउँबाट मानिसहरुको आउँदै छन् । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । भगवती जात्राको ऐतिहासिक र विशेष महत्व रहेको भन्दै आजको दिन लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।
पाल्पामा मनाइने अन्य जात्राहरु भन्दा यस रथयात्रा फरक राष्ट्रिय गौरव, स्वाभिमान र स्वतन्त्रताको प्रतिकका रुपमा मनाइँदै आएकाले यसको महत्व बढेको पाल्पाली साहित्यकार रोजेन्द्र गोपाल सिंहले बताए । भगवती रथयात्राकोे दिनलाई पाल्पाली जनताले राष्ट्रिय पर्व र उत्सवको रुपमा मनाउने गर्दछन् ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update