Shittalpati
नेपाली छड भारत निर्यात

पाल्पा, नेपाली सिमेन्ट भारत निर्यात गरेको नेपालले पुनः नेपाली छड पनि भारत निर्यात गरेको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे छड बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र छड निर्यात गर्न थालेका हुन् । बजेट निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीहरु नेपाली उत्पादन भारत निर्यात सुरु गरेका छन् । यसअघि पाल्पा सिमेन्टले तानसेन ब्राण्डको सिमेन्ट भारत निकासी गरेको थियो । श्री स्टिलले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलोपटक छड निकासी गरेको जनाएको छ । बुधबार नौतनवास्थित एक फर्मलाई एक ट्रक छड पठाएको उद्योगका सञ्चालक राजेश अग्रवालले बताए । ‘हामीले भारतको नौतनवास्थित एक फर्मलाई पहिलो दिन दुई ट्रक पठाएका छौं, यो सुरुवात हो । कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन, सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको हो,’ उनले भने । भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् ।

उक्त उद्योगहरुले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पखाईमा रहेको जनाएका छन् । भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिनै १५ महिनाभन्दा बढी समय लगाएको भन्दै व्यवसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहज रुपमा अनुमति दिनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update