Shittalpati
एनआरएन स्कटल्याण्डको अध्यक्षमा भण्डारी

पाल्पा, गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन् । सफल व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

युनिक एफएम पाल्पाका संस्थापक समेत रहेका भण्डारी यस अघि एनआरएन युकेका सल्लाहकार तथा एनआरएन राज्य समन्वय परिषद् स्कटल्याण्डका उपाध्यक्ष समेत थिए । गुल्मीको सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनीका भण्डारी विगत १७ वर्षदेखि स्कटल्याण्डमा रहेर होटल व्यवसायी गर्दै आएका छन् । अध्यक्ष पदमा निर्वाचित भएसँगै भण्डारीले एनजेडीसँगको कुराकानीमा स्कटल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई एनआरएनमा आवद्ध गराई उनीहरुले भोग्नु परेका समस्या समाधानमा पहल गर्ने बताएका छन् । स्कटल्याण्डमा रहेका नेपालीहरु अहिले पासपोर्ट, सिफारिस, ट्रावल्स डकुमेन्ट लगायतका कामका लागि लण्डन स्थित राजदूतावासमा जानुपर्ने बाध्यता रहेको छ । त्यसको अन्त्यका लागि सम्बन्धित निकायसँग विशेष पहल गर्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले बताए । एनआरएन युकेको राष्ट्रिय समन्वय परिषद्का हरेक कार्यक्रमहरु स्कटल्याण्डको प्रतिनिधित्व र सहभागिता गराउने कार्यलाई प्राथमिकता दिने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

स्कटल्याण्डमा रहेर होटल व्यवसायी गर्दै आएका भण्डारीले नेपालका लागि विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आएका छन् । उनी नेपालको पर्यटन क्षेत्रको विकासका लागि स्कटल्याण्डमा रहेर प्रचार–प्रसार गर्ने काममा समेत क्रियाशिल छन् । स्कटल्याण्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी ओझा र कोषाध्यक्षमा शर्मिला ढकाल, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा टिकाराम खरेल, कमला श्रेष्ठ, कृष्ण देवकोटा,बलिभद्र अम्मै रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update