Shittalpati
कोरोनाको त्रास कायमै

विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझै साम्य भएको छैन् । नेपालमा सरकारले जिल्ला–जिल्लामा निषेधाज्ञा जारी राखेको छ । यहाँ कोरोना त्रासलाई बेवास्ता गर्दै अनावश्यक भिडभाड हुने गरेको पाइएको छ । नेपालमा भर्खर–भर्खर खोप अभियान सुरु भए पनि यसको त्रास कायमै छ । गत वैशाखको दोस्रो हप्तामा जस्तो अवस्था थियो अहिले अवस्था त्यस्तो छैन कि जस्तो देखिएको छ तर यथार्थ त्यस्तो छैन । सुरुको अवस्थाम जति परीक्षण भएको थियो त्यो मात्रा अहिले घटेकाले संक्रमणको दर केही कम देखिएको हो । नेपालमा कुनै दिन संक्रमणको संख्या साढे नौ हजार पुगेको हो । प्रतिदिन निको हुनेहरूभन्दा संक्रमित हुनेहरू त्यसबेला दोब्बर हुने गरेका थिए । हालको अवस्था यस्तो चाहिँ छैन ।
अहिले कम मात्रमा संक्रमितदेखिए पनि त्यो भन्दा बढी संख्या दैनिक निको हुने छन् । मृत्यु हुनेहरूको दैनिक संख्या निकै तल झरेको छ । यसो भन्दैमा कोरानोको महामारीबाट अब सतर्क बन्नु पर्दैन भन्ने होइन । नेपालमा अझै पनि २ हजार भन्दा माथि नै दैनिक संक्रमित हुने गरेका छन् । यो तथ्याङ्कलाई पनि कम आक्नु हुँदैन । कुनै समय प्रतिदिन सयभन्दा तल झरेको संक्रमित अझै यति ठूलो संख्यामा रहनु महामारीको भयावह स्थिति नै हो । निकै ठूलो संख्याबाट घटेको हुनालेमात्र यो संख्या कम जस्तो देखिएको हो । फेरि परीक्षण संख्या कम रहेकाले अनुपातका आधारमा भन्दा यो संख्या अझै कहालीलाग्दो हो । पाल्पामा वैशाख १७ गतेदेखि चलिरहेको लकडाउनलाई अब लुजडाउनमा परिणत गर्ने भनिएको थियो तर विद्यमान अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनले यसो गर्न सकेन । जेठ ३१ गते सकिएको यसको म्याद १२ दिन थपेर निरन्तरता दिइएको छ । लुजडाउन भएको छैन तर कुनै–कुनै क्षेत्रमा केही खुकुलो भने गरिएको छ । यसले पनि कोरोना संक्रमणको अवस्था अझै पनि कायमै रहेको प्रष्ट हुन्छ । तसर्थ कोरोनाको संक्रमण घट्यो भनेर ढुक्क हुन सक्ने अवस्था भने छैनन् ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update