Shittalpati
पाल्पा अस्पतालमा छड्के, नयाँ समिति आएपछि सुधारका संकेत

तानसेन, पाल्पा जिल्ला अस्पताललाई व्यवस्थित गर्न विभिन्न किसिमका प्रयासहरु थालिएका छन् । प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले पाल्पा जिल्ला अस्पतालका लागि नयाँ अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपाका नेता नेत्रप्रसाद पाण्डे र सदस्यमा सुशिला श्रेष्ठलाई नियुक्त गरेपछि अस्पतालको व्यवस्थापन र दैनिकी सञ्चालनका लागि नयाँ शैली अपनाउने प्रयास शुरु भएको छ । आइतबार जिल्लाका राजनैतिक दलका प्रतिनिधि, संघीय तथा प्रदेश सरकारका सांसद स्थानीय जनप्रतिनिधि, पत्रकार र सरोकारवालाको रोहवरमा अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरी सुझाव संकलन गर्ने कार्य भएको हो ।

सुझाव संकलन तथा स्थलगत अनुगमनका क्रममा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष पाण्डेले अस्पतालमा देखिएका विभिन्न समस्याको समाधान गर्न सबै पक्षको सहयोग आवश्यक रहेको औल्याउँदै अस्पताललाई केवल रेफर सेन्टरका रुपमा मात्रै सिमित नगरेर गुणस्तरीय स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । सघीय सांसद तथा पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेले अस्पतालका भौतिक पूर्वाधारका लागि आवश्यक पर्ने बजेट प्रदेश र केन्द्र सरकारसँग ल्याउने कार्यमा आफ्नो भरपुर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । प्रदेश पाँचका प्रदेश सांसद डा.पुरनमान बज्राचार्यले अस्पताल जिल्लाकै पुरानो अस्पताल भएको हुँदा यसको विकास प्रवद्र्धनका लागि नयाँ किसिमबाट सोच्ने बेला आएको बताए । जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.पुष्प ज्ञवालीले अस्पताल सुधारका लागि आफुहरु निरन्तर लागि परेको बताउँदै नयाँ कार्यसमिति बनेपछि सुधारका संकेत देखिएको बताए । नयाँ समितिबाट अस्पताललाईमा सुधार ल्याउने विश्वास जागेको छलफलमा सहभागीहरुले औल्याएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update