Shittalpati
सिद्धबाबा माविका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर

रमेश विश्वकर्मा

गुल्मी, गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर भएका छन् । यस विद्यालयमा २०७५ साल देखि इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए) प्रोजेक्ट लागू भएको थियो । यस अन्तरगत “म मेरो बिरूवासंगै श्वास फेर्छु” भन्ने शिर्षक प्रोजेक्टमा उनीहरू हरित विद्यालय बनाउन अग्रसर भएका हुन् । कुनै पनि प्राणीलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । यसको लागि बिरूवाको संरक्षण र वातावरण हराभरा बनाउन आवश्यक छ । सोही अवधारणालाई मध्यजनर गर्दै त्यस विद्यालयका विद्यार्थीहरूले विद्यालयमा आफैले गमला ल्याई विभिन्न प्रजातिका विरूवाहरू लगाएका छन् ।

यस प्रोजेक्टमा कक्षा ७ र ८ का विद्यार्थीहरू सहभागी भइरहेका छन् । यसमा शिक्षकहरू शान्ति नेपाली, निर्मला अर्याल, बसुन्धरा थापा पनि सहभागी छन् । यतिबेला विद्यालयमा धूपी सल्ला, क्रिसमस –ट्री, मेरी गोल्ड, स्पाइडर प्लान्ट लगायतका बोट विरूवाले विद्यालयको वातावरणलाई नै हराभरा बनाएको छ । “यस प्रोजेक्ट अन्र्तगत ग्रिन विद्यालय र नगरपालिका भित्रका खाली र सार्वजनिक स्थानहरूमा वृक्षरोपण गरी हराभरा बनाउनु रहेको छ” शिक्षक शान्ति नेपालीले भनिन् । विद्यार्थीहरूले आफ्नो जन्मदिनको अवसरमा समेत गमला ल्याई विभिन्न विरूण रोपण गर्दै आएका छन् । यसबाट विद्यार्थीहरूलाई कोरा किताबी ज्ञान भन्दा व्यवहारिक सिकाइ पनि हुने भएकाले जीवन उपयोगी भएको नेपालीले उल्लेख गरिन । यसबाट विद्यार्थीहरूलाई जीवन उपयोगी सिकाइसंगै प्रकृतिलाई हराभरा बनाउन ज्ञान, सीपको पनि विकास हुने नेपालीले बताइन् । यतिमात्र होइन, विद्यार्थीहरूले यो प्रोजेक्ट अन्र्तगत पाकिस्तानका विभिन्न विद्यालयसँगको समन्वयमा एक अर्कोको देशमा भएका बोटबिरूवाहरूको अध्ययन समेत गर्न पाइरहेका छन् । पाकिस्तानको बिरूवा र यहाँको बिरूवाको नाममा भएका फरक विषयमा दुवै देशका विद्यार्थीहरूले जान्ने अवसर पाइरहेका छन् । आई.एस.ए प्रोजेक्ट अन्र्तगत नै यस विद्यालयमा “नेपालको संस्कृति, हाम्रो वरिपरिको जडिबुटी, स्वस्थ खाना, फलफूल र तरकारी,अभिवादन शब्दहरू, धार्मिक स्थल रेसुङ्गा, कफी खेती, प्राङ्गारिक मल, मेरो सीप मेरो पाना, भूकम्प शिक्षा, हाम्रो जीवनमा ज्यामिति” शिर्षकका प्रोजेक्टहरू सञ्चालन छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update