Shittalpati
पाल्पा शान्ति समाजले गर्‍यो म्यान्मारमा भएको सैन्य दमनका विरुद्ध विरोध

रामचन्द्र रायमाझी

पाल्पा, म्यान्मारमा भएको सैन्य दमनका विरुद्ध मानव अधिकार तथा शान्ति समाज पाल्पाले विरोध प्रदर्शन गरेको छ । समाजले स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारको लडाइँकी अथक योद्धा मानिने आङ सान सुचीको मुलुक म्यान्मारमा सैन्य ‘कु’ को विरोधमा सडकमा उत्रिएका नागरिकमाथि गरिएको बर्बर दमन निन्दनीय रहेको भन्दै सांकेतिक विरोध प्रदर्शन गरेको हो ।

समाजले सोमबार तानसेनमा म्यान्मारमा भइरहेको हत्या र दमनको विरोध एंव राजनैतिक बन्दीहरूको बिना शर्त रिहाईको माग गर्दै सांकेती विरोध प्रदर्शन गरेको छ । उसले सैन्य कदमको विरोधमा सडकमा उत्रिएका आमनागरिकमाथि गरिएको निर्दयी दमनको विरोध गरेको जनाएको छ । शान्तिपूर्ण विरोध–जुलुस गर्न पाउने सामान्य राजनीतिक अधिकारको खिलाफमा उभिएर म्यान्मारको सेनाले आफ्ना नागरिकमाथि गरेको ‘कु’ को विरुद्धमा विरोध आयोजना गरिएको शान्ति समाजले जनाएको छ ।

तानसेनस्थित शितलपाटीमा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण रावलले म्यान्मारमा भएको घटनाले मानव अधिकारको हनन् भएको बताएका छन् । उनले आङ सान सुची लगाएत राजनैतिक बन्दीहरूको हत्याले मानव अधिकारको खिल्ली उडाएको बताए । उपाध्यक्ष रावलले भने‘स्वतन्त्र भएर बाच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो, स्वतन्त्र र शान्तिपूर्ण आन्दोलनमा उत्रिदा म्यानमारमा शैन्य शासकहरूले मानवलाई हत्या गरेको छ, जुन मानव अधिकारको उलङ्घन हो ।’ नेपालमा पनि शृङ्खलावद्ध रुपमा थुप्रै हत्या हिंसाका घटनाहरु भएको भन्दै त्यसलाई रोक्न सरकार असफल भएको उनको भनाई छ । मानव अधिकार तथा शान्ति समाज सरकारको आलोचक नभई समर्थक रहेको बताउदै रावलले भने ‘ यदि सरकारले मानव अधिकारको उल्लङघन गर्‍यो भने त्यसको विरुद्धमा आलोचना पनि गर्ने छ ।’ देशमा निर्मला पन्थ जस्ता बालिकाहरुले अझै पनि न्याय पाउन नसकेको भन्दै उनले त्यस घटनाप्रति शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको र दोषिलाई कारवाहीको माग गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले देशको शान्ति सुव्यवस्था कायम गर्न शान्ति समाजको योगदान महत्वपूर्ण रहेको बताए । शान्ति समाजले विगतमा युद्धको विरुद्धमा र शान्तिको पक्षमा अभियान सञ्चालन गर्दै आएको बताउदै सचिव रायमाझीले देशमा अहिले शान्ति, शुसासन कायम गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा मिलिनियम मावि तानसेनका कानुनी संकायमा अध्ययनरत विद्यार्थी सीमा पाण्डे,विमल बिसी लगायतले म्यानमारमा भएको हत्याले मानव अधिकारको हनन् भएकाले त्यसका विरुद्धमा सशक्त आन्दोलन गर्नु परे पनि आफुहरु तयार रहेको बताएका छन् । उनीहरुले म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एंव राजनैतिक बन्दीहरूको बिना शर्त रिहाईको माग समेत गरेका छन् । विरोध सभामा सहभागीहरुले मान्छे मार्न पाइदैन, सैनिक शासन चाँहिदैन, लोकतन्त्र बहाली गर, राजनीति बन्दी रिहा गर,मानव अधिकारको सम्मान गरौं,हत्या हिंसा बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका थिए । शान्ति समाज पाल्पाका सभापति अरूण ज्ञवालीको अध्यक्षता, सचिव विष्णु बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

म्यान्मारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागि ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको थियो । गत नोभेम्बर महिनामा सम्पन्न आम निर्वाचनमा नेतृ सुची नेतृत्वको दल नेसनल लिग फर डेमोक्रेसीले ल्याएको अत्यधिक बहुमतलाई त्यहाँको सेनाले अस्वीकार गर्दै आएको थियो । सुरुमा निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेको सेनाले अन्ततः ‘कु’ कै मञ्चन गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update