Shittalpati
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप

पाल्पा(झडेवा),माथागढी गाउँपालिका भित्रका ६५ वर्षभन्दा माथिका नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । तेस्रो चरणको कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप अभियान अन्तर्गत कार्यक्रम गाँउपालिका भित्रका ८ वटै वडाका ७ सय १२ जना नागरिकहरुले खोप लगाएका हुन् ।

माथागढी गाउँपालिकाको स्वास्थ्य शाखाले ६५ वर्षमाथि उमेर समुहका नागरिकहरुलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाएको थियो । सुरुका दिनहरुमा कोरोना विरुद्धको खोप सुन्नै नमान्ने माथागढीका जेष्ठ नागरिकहरु पछिल्लो समय भने खोप लगाउन निकै उत्साहित भएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । खोप बारे घर–घरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अहिले यहाँका नागरिकहरु खोप लगाउन तछाडमछाड गरेको अध्यक्ष थापाको भनाई छ । समुदायका ६५ वर्ष भन्दा माथि उमेर समुहका व्यक्तिहरुलाई खोप लागउने अभियान प्रभावकारी बन्छकी बन्दैन भनेर दोधारमा परेका यहाँका स्वाथ्यकर्मीहरु अहिले निकै उत्साहित बनेका छन् । जेष्ठ नागरिकहरुको खोप लगाउन नै उत्साहित देखिएपछि स्वास्थ्यकर्मी पनि उत्साहित भएका हुन् । पहिलो चरण र दोस्रो चरण भन्दा तेस्रो चरणको खोप अभियानमा थप उत्साह देखिएको स्वास्थ्य शाखाका संयोजक केशव जिसीले बताए ।
फागुन २३ गतेबाट शुरु भएको खोप कार्यक्रममा वडा नं.४ झडेवा स्वास्थ्य चौकीमा ६५ वर्ष भन्दा माथि उमेर समूहका १ सय ४२ जना नागरिकहरुले कोरोना खोप लगाएको स्वास्थ्य शाखाका संयोजक जिसीले जानकारी दिए । गाँउपालिका भित्रका आठ वडाहरूमा रहेका आठ वटा स्वास्थ्य चौकीबाट कोरोना विरुद्धको खोप लगाउने कार्य अहिले सकिएको छ । सरकारले तेस्रो चरणको खोप अभियानमा शिक्षक गाडी चालक लगायतहरुलाई खोप लगाउने सूचना प्रकाशन गरेको भए पनि शिक्षकहरुले खोप लगाउन नपाउनु दुर्भाग्य भएको किसान माध्यमिक विद्यालय झडेवाका शिक्षक भिमबहादुर आचार्यले दुखेसो पोखे । खोप लगाएकाहरुलाई कुनै नकरात्मक असर नदेखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । खोपको नकारात्मक हल्ला फैलाइएको भए पनि त्यस्तो कुनै संकेत समेत नभएको राजेश पन्थीले बताए । खोप लगाउने कार्यक्रममा लुम्बिनी मेडिकल कलेज प्रभासका डाक्टरहरु, गाउँपालिका भित्रका स्वास्थ्य चौकीका कर्मचारीहरु, गाउँपालिकाको स्वास्थ्य शाखा र गाउँपालिकाको सहयोग रहेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update