Shittalpati
अमेरिका जानलाई खुल्यो डिभी चिट्ठा, हेर्नुहोस् यस्तो छ प्रावधान

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९ः४५ बजे (अक्टोबर ७, २०२०) बाट आवेदन खुला भएको हो । दूतावासका अनुसार डीभी चिट्ठाका लागि २५ कात्तिकको मध्याह्नसम्म आवेदन दिन सकिनेछ । एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जनाउ दिँदै दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेको छ । दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको हो । आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov  वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन् । निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने छ । डिभी भर्नका लागि फोटो खिच्दा चस्मासमेत लगाउनु हुँदैन । दूतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नैपर्नेछ । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ । तर आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन दूतावासले आग्रह गरेको छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७८ वैशाख २५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update