Shittalpati
रेसुङ्गा नगर सरकार र बेलायतको हकिन्ज नगर बिच भगिनी सम्बन्ध

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र सयुंक्त अधिराज्य बेलायतको हकिन्ज नगर परिषद् बिच भगिनी सम्बन्ध स्थापित भएको छ । नेपाली राजदूतावास लण्डनले एक प्रेस विज्ञप्तिमार्फत रेसुङ्गा नगरपालिका र संयुक्त अधिराज्यको हकिन्ज नगरपरिषद् बिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौताबारे जानकारी दिएको रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शंकर गौतमले जानकारी दिए । संयुक्त अधिराज्य बेलायतको हकिन्जमा दुई अक्टोबर २०२० मा आयोजित एक समारोहमा रेसुङ्गा नगरपालिका र संयुक्त अधिराज्यको हकिन्ज नगर परिषद् बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौता भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हकिञ्ज नगर परिषद्का प्रमुख फिलिप मार्टिनले दुई नगरबीच भगिनी समबन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक, क्षेत्रमा सहयोग तथा भ्रमणहरुको आदान–प्रदान दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने उल्लेख गरेका छन् । रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई सन् २०२१ मा एक मन्त्रिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणा दिएको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले २ सय वर्ष भन्दा पुरानो मैत्रिपूर्ण नेपाल, बेलायत सम्बन्धलाई भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास लिएका छन् । रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा.सुवेदीले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखको तर्फबाट हकिन्ज परिषद्का प्रमुख तथा उप–प्रमुखलाई अर्को वर्ष रेसुङ्गाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिए । हकिन्जको चर्चित स्कुल तथा रेसुङ्गाको सिद्धबाबा माध्यमिक बिद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने सहमति समेत भएको छ ।

बेलायत जस्तो मुलुकबाट रेसुङ्गा नगरपालिकासँग भंगिनी सम्वन्ध स्थापित हुनु नगरपालिकाका लागि महत्वपूर्ण अवसर भएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । उनले त्यहाँका नगरप्रमुख , नेपाली राजदुत, परराष्ट्रमन्त्री सहित भंगिनी सम्बन्ध स्थापना गर्न पहल गर्नु हुने सबैलाई धन्यवाद दिए । संक्रमणका कारण आफु यति बेला त्यहाँ जान नसकेका कारण यहाँबाट आफुले हस्ताक्षर गरि पठाएको भुसालले बताए ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update