Shittalpati
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । “शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ”, मौसमविद् कँडेलले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पनिछल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाका ४५.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४८.०, धनगढीमा १०.०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ । –रासस

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update