Shittalpati
मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालीको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् आज हो, तर मंगलबारदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ । यसले अझै केही दिन मनसुन लम्बिने पक्का भएको छ । मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् । मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारती वर्षा हुने जानकारी गराए । विगतमा तीन/चार दिन नेपालमा राम्रो घाम लागेको थियो ।

छटफुट बाहेक मौसम बदली थिएन । यो बेला भारतमा उच्च चापीय क्षेत्र बनिसकेको थियो । त्यो सर्दै नेपाल आउँदा अब विस्तारै यसपालीको मनसुन हट्ने विश्लेषण मौसमविद्ले गरिसकेको तर भारतमा बनेको त्यो उच्च चापीय क्षेत्र त्यहीँ बिलाएर गयो र न्यून चापीय क्षेत्र बन्न पुग्यो । त्यसपछि फेरि मनसुन सक्रिय हुन थालेको हो । मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन सकेको छैन । त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ । अहिले पूर्व र मध्य क्षेत्रमा रहेको मनसुनी प्रभाव बुधबारदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । त्यस क्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिने र बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा भारी वर्षा गराउने छ । यसपाली औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने हुँदा उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् ।

मनसुनका बेला ठाउँ–ठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याड्ढन गर्दा २ सय ४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । प्राप्त विवरण अनुसार बाढी पहिरोबाट वैशाख यता ३ सय ७५ को मृत्यु, १ सय बेपत्ता र ४ सय २० घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २ सय ७२ को मृत्यु र ७४ बेपत्ता भए । अधिकांश घटना जेठ ३० गते मनसुन सक्रिय भएपछि घटेको छ । नसोचेको क्षेत्रमा अपत्यारिला घटना भएका छन् । नेपालको बाढी पूर्वाधनुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि देशका अधिकांश नदीमा बहाव बढ्ने र असोज ७–१० गते देशैभरका नदीमा बहाव बढ्ने तर सतर्कता तलै हुने जनाइएको छ । असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत जनाइएको छ । –रासस

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update