Shittalpati
पाल्पामा कर्मचारी विहीन स्थानीय शिक्षा शाखा

(कृष्ण दर्नाल (रासस)
पाल्पा, पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारी विहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएका छन् । स्थानीय सरकारले शिक्षा शाखाका संयोजकको जिम्मेवारी अहिले रोजगार संयोजकलाई तोकिएको छ । जिल्लाको तानसेन नगरपालिका तथा बगनासकाली, तिनाउ र रिब्दीकोट गाउँपालिकामा मात्र शिक्षा शाखामा कर्मचारी छन् । त्यो पनि आवश्यकता अनुसार रहेको छैनन् । बाँकी स्थानीय तहका शिक्षा शाखा अस्थायी र करार कर्मचारीका भरमा सञ्चालन छन् । फलस्वरुप शाखाका काम कारवाही प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका छ स्थानीय तहमा शिक्षक तथा करारका कर्मचारीका भरमा शिक्षा शाखाका गतिविधि सञ्चालित छन् । रैनादेवी छहरा गाउँपालिकामा रोजगार संयोजक हरि पोखरेललाई शिक्षा शाखाको समेत जिम्मेवारी तोकिएको छ । रामपुर नगरपालिकाको हालत पनि उस्तै छ । रोजगार शाखाका संयोजकलाई शिक्षा शाखाको जिम्मेवारी प्रदान गरिएको छ । माथागढी गाउँपालिकामा पनि शिक्षा शाखाको संयोजकमा रोजगार संयोजक सुदिना ज्ञवालीलाई तोकिएको छ । तर ज्ञवालीले राजीनाम दिएपछि संयोजक शाखाको काम कारवाही अगाडि बढेको छ ।

गाउँपालिका प्रशासकीय अधिकृत दीपक नेपालीका अनुसार शिक्षाका सबै काम प्रशासन शाखाबाट हुँदै आएको छ । पूर्वखोला गाउँपालिकामा उद्धबुद्ध माविका प्रध्यानाध्यापक लोकहरि देवकोटाले शिक्षा शाखाका काममा सहजीकरण गरिरहेका थिए । अधिकांश समय विद्यालयको जिम्मेवारीमा रहनुपर्दा गाउँपालिकाले बोलाएको समयमा सल्लाह तथा सहजीकरण मात्रै गर्ने गरेको उनले बताए । निस्दी गाउँपालिकामा पनि शिक्षाको कर्मचारी नहुँदा स्रोत व्यक्ति हरिबहादुर सारुले शिक्षा शाखाका काम हेरिरहेका छन् ।

स्रोत व्यक्तिका सट्टामा नयाँ शिक्षक विद्यालयमा राखेर गाउँपालिकाले स्रोत व्यक्तिलाई गाउँपालिकामा तानिएका छन् । रम्भा गाउँपालिकामा शिक्षा शाखाको जिम्मेवारी स्रोत व्यक्ति काशीराम बस्याललाई दिएको छ । स्थानीय तहमा शिक्षाका कर्मचारी नहुदाँ करारका कर्मचारी र शिक्षकलाई जिम्मेवारी प्रदान गर्न बाध्य भएको गाउँपालिकाले जनाएको छ । कर्मचारीको अभावमा शिक्षा सम्बन्धी काम गर्दा ढिलासुस्ती र समस्या हुँदै आएका छन् । जिल्लामा दुई सय प्राथमिक विद्यालय सञ्चालनमा छन् । त्यस्तै ८८ निमावि र १ सय १५ मावि जिल्लामा सञ्चालित छन् । जिल्लाको तानसेन नगरपालिकामा शिक्षा शाखा उपसचिव रेशमलाल न्यौपाने र स्रोत व्यक्ति लक्ष्मी ढुङ्गाना, बगनासकाली गाउँपालिकामा शिक्षा अधिकृत गुनाराम खनाल, तिनाउ गाउँपालिकामा शिक्षा अधिकृत लक्ष्मी कुँवर तथा रिब्दीकोट गाउँपालिकामा शिक्षा अधिकृत मणि खनाल कार्यरत छन् । शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका शाखा अधिकृत विष्णुप्रसाद बेल्बासेका अनुसार स्थानीय तहका शिक्षा शाखाले प्रदेश र केन्द्रका कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने हुन्छ ।

केन्द्र र प्रदेशका काम गर्ने जिम्मा रहेको हुँदा शाखामा कर्मचारी नहुँदा समस्या बल्झिएको उनले बताए । शिक्षा, युवा तथा खेलकूद मन्त्रालयका काम पनि स्थानीय शिक्षा शाखाले गर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष युवा तथा खेलकूद मन्त्रालयले एक लाख खेलकूदका क्षेत्रमा खर्च हुँदै आएको छ । त्यसबाहेक स्थानीय तहका शिक्षा सम्बन्धी बैठक, तालिम, अनुगमनका कामसमेत गर्नुपर्ने अवस्थामा कर्मचारी नहुँदा स्थानीय तहमा शिक्षाका कामको व्यवस्थापनमा चुनौती थपिएको छ । प्राथमिक तहमा एक हजार ८ सय ५ शिक्षक कार्यरत छन् । तीमध्ये ५ सय ९६ स्थायी र २ सय ९ राहत दरबन्दीका शिक्षक कार्यरत छन् । निमाविमा तहमा स्वीकृत ३ सय २३ दरबन्दीमध्ये १ सय ५८ राहत गरी ४ सय ८१ शिक्षक कार्यरत छन् । मावि ९ देखि १० कक्षासम्म २ सय ४९ र मावि कक्षा ११ र १२ मा ६१ शिक्षक अझै आवश्यक छ । शिक्षकलाई तलब भत्ता तथा अवकाश नियमित प्रक्रियाको चाजोपाँजो मिलाउन स्थानीय तहलाई अहिले चुनौती थपिएको हो । करारका कर्मचारी भरमा शिक्षा शाखा सञ्चालनले स्थानीय तहलाई शिक्षाप्रति बेवास्ता गरिएको शिक्षाविद्को दावी छ । अस्थायी करारका कर्मचारीका भरमा शिक्षा सञ्चालनले शिक्षा क्षेत्र कमजोर हुँदै जाने संकेत देखिएको शिक्षक बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update