Shittalpati
प्रजिअ मार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

पाल्पा, खोप सेवा प्रवाह गर्दा आईपर्ने अवाञ्छित घटनाहरुको सम्पूर्ण जिम्मेवारी संघीय सरकारले लिनुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारबाट सिफारिस गरिए अनुसार आवश्यक तालिम लिई खोप तालिका अनुसार कर्मचारीहरुले खोप सेवा प्रवाह गर्दा आई पर्ने घटनाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्दै मंगलबार बगनासकाली गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी उमेश ढकाल मार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

सार्वजनिक सञ्चार माध्यमबाट खोपको भार थेग्न नसकी बालबालिकाको मृत्यु भएको भन्ने प्रचार भईरहँदा, त्यसको वास्ताविकता के हो ? खोपको भार कति सम्म ठिक हो ? कति बढी हो ? खोपबाट हुने असर के हो ? भन्ने विषयमा सरकार तथा खोपसम्बन्धी विज्ञ व्यक्तिहरुले खोपका बारेमा सर्वसाधारणलाई जानकारी नगराईदा स्वास्थ्यकर्मीहरुलाई खोप सेवामा थप चुनौती सिर्जना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नियमित खोप सञ्चालनबाट बालबालिकाको मृत्यु भएका घटनाहरु सञ्चार माध्यमबाट प्रचार–प्रसार भई सेवाग्राहीमा खोप सेवा लिन डराई रहेकाले सरकार तथा खोप विज्ञहरुबाट खोपका विषयमा सर्वसाधारणमा जानकारी गराइनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य मन्त्री र सरोकारवालाई निकायको ध्यानाकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।

राष्ट्रसेवक कर्मचारीहरुले सरकारको निर्देशन अनुसार सेवामा खट्दा कुनै सेवाग्राहीको मागका आधारमा सत्य तथ्य नबुझी हिरासतमा लिईएको घटना सार्वजनिक भइरहेकाले यस्ता घटनाले स्वास्थ्यकर्मीहरुलाई अत्यन्तै दुःखी बनाएको भन्दै यसतर्फ ध्यान दिन सरकारलाई स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले पत्र जस्ताको त्यस्तै स्वास्थ्य मन्त्रालयमा पठाईदिने बताए । उनले खोप नेपाल सरकारको पहिलो प्रथमिकता रहेकाले यसतर्फ सरकारले ध्यान दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update