Shittalpati
पाल्पामा थप ३२ जना संक्रमित निको भएर घर फर्किए

पाल्पा, पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ३२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । बुधबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै पूर्वखोला गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका १ सिलुवामा निर्माण गरिएको आइसोलेशन सेन्टर र लुम्विनी मेडिकल कलेज प्रवासमा रही उपचार गराईदै आइएको थियो । योसँगै गाउँपालिकामा निको भएका संक्रमितको संख्या ८८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ५ सय ५३ संक्रमितमध्ये बुधबारसम्म ४ सय २० जना निको भइसकेका छन् । हालसम्म माथागढी गाउँपालिकाका २८ जना, रामपुर नगरपालिकाका १ सय ६,पूर्वखोलाका ८८, रैनादेवी छहराका ३३, रम्भाका २५, बगनासकालीका २८, तिनाउका ४, रिब्दीकोटका ४, निस्दीका ९५, तानसेनका ६ , गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।


जिल्लामा सोमबार, मंगलबार र बुधबार भने एक जनामा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update