Shittalpati
विदामा नेपाल गएकालाई कोरिया ल्याइने

काठमाडौं । कोरोना माहामारी अघि विदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइनेछ । विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको विदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो ।

आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए । जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी सङ्गठनहरूले नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोध वमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो ।

निर्णय पश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान चार्टर्ड गर्ने सम्झौता गरेको हो । यसरी फर्किने श्रमिकले टिकट बापत एक लाख १३ हजार ७७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने हुन्छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ । कुनै समस्या वा जानकारी लिनुपर्ने भए एनआरएनए कोरियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि भनिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update