Shittalpati
कालीगण्डकी करिडोर : ‘बागलुङ–गुल्मीखण्ड’ काम शुरु

तारानाथ आचार्य

बलेवा, नेपाली सेनाले स्तरोन्नति गरिरहेको कालीगण्डकी करिडोर अन्तर्गत ‘बागलुङ–गुल्मीखण्ड’को काम सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सो खण्डको काम अवरुद्ध भएको थियो । मजदुरको सङ्ख्या घटाएर काम पुन : सञ्चालन ल्याएको सेनाले जनाएको छ । यो खण्डमा लकडाउन पूर्व झण्डै ३०० मजदुर र केही उपकरणको प्रयोग गरिएको थियो । कोरोना जोखिमका कारण काम गर्ने मजदुर घटेपछि सो खण्डमा ८० जनाले काम शुरु गरेको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । मजदुरलाई स्वास्थ्य सुरक्षाको प्रबन्ध गरेर ठूला योजनाका काम सञ्चालन गर्न सरकारको आग्रहपछि आयोजनाको काम शुरु भएको हो । सेनालाई बागलुङदेखि गुल्मीसम्मको सडक निर्माण गर्ने कामको जिम्मेवारी सरकारले दिएको छ ।

यो सडक असार मसान्तसम्म सक्ने लक्ष्य राखे पनि कोरोनाको प्रभावले काम गर्ने मजदुर सबै घर फर्किएपछि काम निर्धा्रित समयमा सक्न गाह्रो पर्ने कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिए । बागलुङको मालढुङ्गादेखि गुल्मीसम्म जोड्ने सडक निर्माणमा अहिलेसम्म रु एक अर्ब ४२ करोड खर्च भइसकेको छ । बागलुङको मालढुङ्गादेखि बलेवा एअरपोर्टसम्मको १० किलोमिटर सडक १० मिटर चौडाइ निर्माण सम्पन्न गरी सडक कालोपत्रे गर्न सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । छिमेकी मुलुक भारत र चीनको उत्तरदक्षिण जोड्ने यो सडक निर्माण भएमा भारतीय नागरिक मुक्तिनाथ मन्दिर दर्शन गर्न जान र चिनियाँ बौद्ध धर्मावलम्बीलाई लुम्बिनी पुग्न सहज हुने करिडोर अभियन्ताका टीकाराम ढकाल बताउँछन् । सडकले छोएका जिल्लाका कृषकले उत्पादन गरेको कृषि उपज निर्यातमा समेत सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

बरेङले आफ्ना नागरिक रहेकै ठाउँमा राहत पुर्‍याउने

लकडाउनको समयमा गाउँ बाहिर रहेकालाई खाद्यान्न अभाव भएको गुनासो आउन थालेपछि जिल्लाको बरेङ गाउँपालिकाले आफ्ना नागरिक रहेकै ठाउँमा खाद्यान्न पुर्‍याउने भएको छ । लकडाउनको प्रभावकारी कार्यान्वयन र आफ्ना नागरिकको सुरक्षाका लागि गाउँपालिकाले समस्या रहेकै ठाउँमा खाद्यान्न उपलब्ध गराउने नीति बनाएको हो । गाउँपालिकाबाट पढाइ र रोजगारीको सिलसिलामा देशका विभिन्न ठाउँमा रहेका नागरिकलाई गाउँपालिकाले अहिले रहेकै ठाउँमा रहन र समस्या परे गाउँपालिकालाई खबर गर्न भनेको छ ।

“देशभित्रै भएकाहरु समस्या भयो भनेर नहिँड्नु भनेका छौँ, उनीहरु जहाँ छन् त्यहीँ समस्या समाधान हामी गर्छौँ” गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने “सम्बन्धित तहसँग समन्वय गरेर समस्या रहेका ठाउँमा हाम्रो उपस्थिति देखाउँछौँ ।” गाउँपालिकाले समस्या परेका नागरिकहरुलाई अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मोबाइलमा सम्पर्क गर्न आग्रह गरेको छ । “हामी हाम्रा नागरिकको समस्या समाधान गर्न सक्छौँ, त्यसका लागि अनेक उपाय छन्”, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, “एक महिनासम्म बाहिरै बसेका नागरिकलाई समस्या नभए पनि खानाको समस्या हुनसक्ने गाउँपालिकाको अनुमान छ । खानाका लागि समस्या भए राहत उपलब्ध गराइने थापाले बताए ।

विपन्न तथा मजदुरलाई राहत वितरण गरिरहेको गाउँपालिकाले खाद्य बैंकसमेत स्थापना गरेको छ । गापाका पाँचै वडामा खाद्य बैंक स्थापना गरेर विपन्न तथा मजदुरलाई निःशुल्क राहत सामग्री र अन्य नागरिकलाई खाद्यान्न खरिद गर्न सक्ने व्यवस्था मिलाइएको थापाले बताए । उनले भने, “गाउँपालिकाले सक्नेलाई थोक मूल्यमा खाद्य बैंकमार्फत सामग्री उपलब्ध गराउँछ, नसक्नेलाई निःशुल्क वितरण गर्छ । ” रासस

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update