Shittalpati
नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार सुरु

काठमाडौँ, (रासस), नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र जापानको राजनीति, राजनीतिक दल र आवधिक निर्वाचन’का विषयमा आजदेखि यहाँ सेमिनार सुरु भएको हो ।

सेमिनारको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँसकोटाले नेपाल जापानको सम्बन्ध र नेपालको विकासमा जापानले गरेको सहयोगका विषयमा जानकारी गराए । उनले नेपाल र जापनबीचको सम्बन्ध विगतदेखि नै सुमधुर रहँदै आएको बताए ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले नेपालले जापानको राजनीति र आर्थिक विकासबाट धेरै कुरा सिक्न सकिने बताए । आजदेखि सुरु सेमिनारमा राजनीतिक अस्थिरताकाबीच पनि जापानको आर्थिक विकासका विषयमा छलफल हुनेछ । नेपालका लागि जाइकाका प्रतिनिधि ओकुबो अकिमित्सुले जापान–नेपालको आपसीसम्बन्ध र जाइकाले नेपालमा गरेको सहयोगका विषयमा चर्चा भएको थियो ।

सेमिसनारमा दुई देशको राजनीतिक अवस्था, आवधिक निर्वाचन, आर्थिक र राजनीतिक परिवर्तनका विषय केन्द्रित बहस हुनेछ । सिनासका कार्यकारी प्रमुख कार्कीका साथै जापानको टोकियो विश्वविद्यालयबाट कार्यपत्र प्रस्तुत हुनेछ ।

यसका साथै सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थीले नयाँ आयामका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रत्नमणि नेपालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update