Shittalpati
समयमै काम नगर्ने बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

हाम्रा संवाददाता
पाल्पा, समयमै काम सम्पन्न नगर्ने बाह्र ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिवद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारवाही गरेको हो ।
कालोसूचीमा परेका कम्पनीमा भारत–सप्तकोसी जेभी काठमाडौँ, हाइवे कन्स्ट्रक्सन प्रालि, भिधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, हाइग्रिवा/सिद्धि साँई प्रकाश जेभी, पाँचखाल कन्स्ट्रक्सन प्रालि, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, एस.एस.के निर्माण सेवा प्रालि, सुर्मादेवी कन्स्ट्रक्सन, नीलगिरि/नेसनल/क्यानोन जेभी रहेका छन् । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् । कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको छ ।
भारत–सप्तकोसी जेभी काठमाडौँलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो । रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवा÷सिद्धि साँई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको हो । त्यस्तै, हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । शहीद गंगालाल हृदय केन्द्र बाँसबारीको सिफारिसमा काठमाडौँको विधि बिल्डर्स प्रालि पनि एक वर्षका लागि कालोसूचीमा राखिएको हो । खलङ्ग जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ ।
त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । काठमाडौँको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
उत्तरगया गाउँपालिका, रसुवाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कपिलवस्तु नगरपालिकाको सिफारिसमा रुपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यसैगरी, कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सन, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहको सिफारिसमा नीलगिरि/नेसनल/क्यानोन जेभीलाई पनि एक/एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उनीहरुले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगरेका कारण कालो सूचीमा राखिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update