Shittalpati
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ

कृष्ण पोखरेल
पाल्पा, प्रायःनयाँ धान घरमा भिर्याएपछि पहिले हामीले नयाँ चामलको भात खान्छौं । तर पश्चिम पाल्पामा भने नयाँ धान भिर्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रशिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएर पछि मात्रै खाने गरिन्छ । यहाँ न्वागी पर्वका दिन देवीलाई काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक चढाइसकेपछि त्यसलाई प्रसादस्वप खाने परम्परा रही आएको छ । यसरी चढाएपछि मात्र घरमा भिर्याइएको नयाँ धानको भात खाने गरिन्छ ।

यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरुको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुनेगर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रुपमा मनाउन थालिएको छ ।

न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याएमा सो घरमा अनिष्ट हुने जनविश्वास रहेको छ । सोही अनुसार यस वर्षको न्वागी मंगलबार पर्व भव्य रुपमा मनाइएको छ । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँंगै मौलिक संस्कृति, जीवन पद्धती, कृषक तथा कला संस्कृतीसँग गासिएको छ । न्वागी खान प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, प्रहरी प्रमुख जनकबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका अधिकृत यज्ञेश्वर पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकारहरु, रैनादेवी मन्दिर परिसरमा पुगेका थिए । अतिथि तथा सर्वसाधारणलाई मन्दिर व्यबस्थापन समितिले दही, चामल खुवाएर स्वागत गरेको थियो । पालिकाको नाम समेत यसै मन्दिरबाट भएकाले न्वागी पर्वलाई गाउँपालिकाले धार्मिक आस्थासँगै कला संस्कृति जर्गेना गर्ने काममा लागेको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए । परम्परागत स्थानीय कला संस्कृति हराउँदै गएको समयमा पालिकाले स्थानीय कला संस्कृति नाचलाई प्रतियोगिताको रुपमा सञ्चालन गरी जर्गेना गर्ने काम गर्दै आएको उनको भनाई छ । पालिकाका उपाध्यक्ष युवराज थापाले रैनादेवीको महत्व, न्वागी पर्वको मान्यता, स्थानीयकला संस्कृति र मनोमोहक दृश्यले यस क्षेत्रको महत्व बढाएको बताए ।

उनले भने ‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न अभियान कै रुपमा गाउँपालिका लागेको छ ।’ रैनादेवी मन्दिरलाई व्यस्थित गर्दै नयाँ मन्दिरका लागि काम शुरु भएको, न्वागी पर्वलाई अझै व्यवथित गर्दै अन्य क्षेत्रमा पनि फैलाउने, पर्वको महत्व बारे जानकारी गराउने, स्थानीय कला संस्कृति देखाउने, जर्गेना गर्ने, प्रतियोगिताको रुपमा स्थानीय कलाकर्मीको हौसल्ला बढाउने गरी पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरेको रैनादेवी छहरा गाउँपालिका–३ का वडा अध्यक्ष प्रदिप पौडेलले बताए । न्वागी पर्वको अवसरमा रैनादेवी मन्दिर परिसरमा लोपोन्मुख अवस्थामा रहेका पञ्चेवाजा, सोरठी, मालश्री, ठूलो नाँच, रत्यौली, झाम्रे चुड्का, लाखे, कौडा मारुनी, जस्ता विभिन्न जात जातिका स्थानीय मौलिक कला संस्कृतिले दर्शकहरुको मन जितेको थियो ।

यहाँ नयाँ धानको चामल कुटी दहि र चामल खाने, मन्दिर परिसमा रातीदेखि स्वतःस्फुर्त रुपमा विभिन्न टोल टोलबाट समूह बनाएर नाँचगान गर्ने र विहान कोटघरबाट रैनादेवीको प्रसाद लिएर घर फर्किने चलन रहेको स्थानीय विशाल दर्लामीले बताए । न्यौपाने बाहुन र छहरी मगरले रैनादेवी माथि अपराध गरेकाले अहिले पनि यी जातीहरु मन्दिर प्रवेश गरेमा अनिष्ट हुने जनविश्वास रहि आएको छ । हालको रैनादेवी मन्दिर भएको जंगल न्यौपाने बाहुनको बारी रहेको थियो । गाईले दैनिक रुपमा दुध नदिएपछि, न्यौपाने बाहुन र छहरी मगरले गाईको पिछा गर्दै जादा बारीको बिचमा सुनको मौलोमा दुध चढाइरहेको देखेपछि दुवै जनाले सुनको मौलो खन्दै जादा तल–तल भासिदै गयो । सुनको टाउको भाचेर भएपनि लैजान्छु भनि कोदालोको पासोले हान्दा रगताम्य भई रुदै देवी उत्पन्न भएको भनाई रहेको छ । देवी भागेर अन्य स्थानमा जादै गर्दा दर्लामी र सोमै मगरले रोकी पुजाआजा सुरु गरेको किवदन्ती रहेको छ । आमरुपमा रोइन देवी रोइन देवी भन्दा भन्दै अपभ्रंश भई रैनादेवी हुन गएको बुढापाकाहरु बताउँछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update