Shittalpati
कास्कीका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान

चिप्लेढुङ्गा, रासस:नेपाल पत्रकार महासंघ कास्कीले पोखराका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा महासंघले पत्रकारलाई उक्त सामग्री प्रदान गरेको हो । कोभिड– १९ को संक्रमणबाट जोगिन स्थलगत रिपोर्टिङमा खटिएर समाचार संकलन गर्ने करीब ६० पत्रकारलाई आवश्यक स्यानिटाइजर, मास्क र पञ्जा प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कोरोना महामारीका बारेमा सही र सूचना दिएर नागरिकलाई सुसूचित गराउने पत्रकार पनि यतिबेला जोखिममा पर्न सक्ने भएकाले सतर्कता अपनाएर समाचार संकलन गर्नुपर्ने बताउनुभयो । डा शर्माका अनुसार गण्डकी प्रदेशका विभिन्न १४ स्थानमा १३३ सघन उपचार कक्ष र ५४ भेन्टिलेटर छन् ।

प्रदेशमा तीन हजार ७४९ क्वारेन्टाइन बनाइएको छ । दुई सय ५८ जना हाल क्वारेन्टाइमा छन् भने एक हजार ८५ होम क्वारेन्टाइनमा छन् । त्यस्तै १७७ आइसोलेशन बेड रहेकामा पाँच जनालाई आइलोशनमा राखेर उपचार गरिएको छ । कोरोना सम्बन्धी पोखराका चार अस्पतालमा नमूना संकलन गर्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । पर्यटक मानेनन् घर फर्किन तनहुँ – पर्यटकीयस्थल बन्दीपुरमा भ्रमणका लागि विभिन्न देशबाट आएका १४ पर्यटक घर फर्किन मानेका छैनन् । बन्दीपुर गाउँपालिका कार्यालयको सहयोगमा बन्दीपुर क्षेत्रका होटलमा रहेका विदेशी पाहुनाको तथ्याङ्क संकलन गरी आआफ्नै देशमा पठाउने व्यवस्था गर्न लागिए पनि असुरक्षाको कारण देखाउँदै उनीहरु घर फर्किन नमानेका हुन् । होटलमा बस्दै आएका पर्यटकको पहिचान गरी आआफ्नै देशमा पठाउने उद्देश्यले तथ्याङ्क संकलन गरिए पनि उनीहरुले घर फर्किन अस्वीकार गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फ्रान्सका पाँच, कोरियाका तीन, रुसका दुई, चीनका एक, कोलम्बियाका दुई र क्यानडा एक पर्यटक बन्दीपरमा छन् ।

लायन्स क्लबद्वारा पिपिई सहयोग म्याग्दी– लायन्स क्लबले बेनी अस्पताल र म्याग्दीका स्थानीय तहलाई व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बी वानले कोरोना शंकास्पद र संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, चिकित्सक र एम्बुलेन्स चालकले प्रयोग गर्ने ५२ थान पिपिई उपलब्ध गराएको हो । बेनी अस्पताललाई ३४ थान र छ स्थानीय तहलाई १८ थान पिपिई उपलब्ध गराइएको क्लबका डेपुटी चिफ एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगला, मालिका, धवलागिरी, रघुगंगा, अन्नपूर्ण र जलजला गाउँपालिकालाई सामग्री उपलब्ध गराइएको हो । सामग्री प्राप्त भएपछि स्वास्थ्यकर्मी र चिकित्सकलाई सुरक्षित भएर काम गर्ने वातावरण मिलेको छ । क्लबले गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ र गोरखा जिल्लामा १४३ थान पिपिई उपलब्ध गराएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update