शिक्षा र समाज

निलसागर आश्रममा दसैंको बिलौना

Shittalpati Reporter

तानसेन, आफ्ना चौहत्तर वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दसैंको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दसैंहरू सम्झदा यस वर्षको दसैं उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा १ भुसालडाँडा स्थित निलसागर आश्रममा बस्दै आएका छन् ।

‘अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ’, फुलसा भन्छिन्, ‘पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।’ ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उनीहरू दसैंमा आश्रममै बस्ने बताउँछन् । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् । उनीहरुमध्ये अधिकांशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उनीहरूलाई सबै दसैंको कुनै रौनक छैन । रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उनी परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुगेका हुन् ।

दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन्’ बाबु, भन्छन् । दसैं नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुगे, ‘पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ’, गहँभरि आँशु पार्दै उनले भने, ‘क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगँे ।’ निको नहुञ्जेल घर नजाने उनले बताए । आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।’ –रासस


प्रकाशित मिति: शनिवार, आश्विन १५, २०७९, ११:२१:००
प्रतिक्रिया दिनुहोस्