Shittalpati
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समृद्धि र रोजगार काँग्रेसको मुुख्य एजेण्डा रहेको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई समितिले आयोजना शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशको समृद्धि र रोजगार सिर्जना काँग्रेसको मुख्य एजेण्डा रहेको बताएका हुन् ।

उनले राजनीतिलाई समृद्धि र रोजगारसँग जोड्नु अहिलेको आवश्यकता रहेको भन्दै त्यसका लागि काँग्रेसले एजेण्डका रुपमा अगाडि बढाएको बताए । सभापति श्रेष्ठले भने ‘अहिलेको आवश्यकता भनेको समृद्धिसँगै रोजगार हो, हामीले राजनीतिलाई समृद्धि र रोजगारसँग जोडेर अगाडि बढ्न सकेनौ भने देशको विकास सम्भव छैन ।’ राजनीतिमा लाग्ने जो कोही युवाहरुलाई आर्थिक उपार्जनसँग जोड्ने योजना काँग्रेसले अगाडि सारेको उनले बताए । काँग्रेसले विशेष गरी युवाहरुलाई उत्पादनसँग जोड्ने सभापति श्रेष्ठले बताए । उनले विद्यार्थीहरु भविष्यका कर्णधार भएको बताए । सभापति श्रेष्ठले भोलिको देश निर्माण गर्ने जिम्मा आजका युवा विद्यार्थीहरुको रहेकाले सोही अनुसार आफुलाई सशक्त बनाएर लैजान आग्रह गरे । उनले विद्यार्थीहरुको हक अधिकारका क्षेत्रमा नेविसंघले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेकाले सबै विद्यार्थीहरुलाई नेविसंघमा समाहित हुन पनि आग्रह गरे ।

सभापति श्रेष्ठले भने ‘देशका हरेक परिवर्तनमा नेविसंघको इतिहास धेरै लामो रहेको छ, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि गंगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरु नेविसंघकै उत्पादन हुन् ।’ उनले विद्यार्थीहरुलाई नेविसंघमा आवद्ध भई संगठन र आफ्नो शैक्षिक जीवनलाई सफलतापूर्व अगाडि बढाउन समेत आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारीले पार्टीको बलियो आधार भनेकै विद्यार्थी संगठन भएको बताईन् । उनले विद्यार्थी संगठनहरु बलियो भए मात्र पार्टी सक्षम र बलियो बन्नेमा उनले जोड दिइन् । सचिव अधिकारीले मुलुकका हरेक परिवर्तनमा नेविसंघले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघमा जोडिन समेत आग्रह गरिन् ।

कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य हरिबोल भट्टराई, नेविसंघ पाल्पाका कार्यवाहक सभापति सुरेश बोहोरा लगायतले आउँदै गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुलाई नेविसंघको संगठनमा सशक्त भएर लाग्न आग्रह गरे । नेविसंघका इकाई सभापति पुण्यप्रसाद सुवेदीको अध्यक्षता, इकाई सदस्य युवराज चन्द बोहोराको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update