Shittalpati
दसैंका लागि टिकट बुकिङ खुला

पाल्पा, सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो  । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ । एकैपटक लाखौँ व्यक्तिले काठमाडौं छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकाले विगतदेखि नै दसैं अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आइएको छ  ।
लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । गुल्मी, पाल्पा, रुपन्देही, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायत स्थानमा जानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्ष्य गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गर्ने भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update