Shittalpati
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर

हाम्रा संवाददाता
गुल्मी, (थोर्गा), अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो । यसबाट सफलता पाउँदै गर्दा झन् व्यवसायतर्फ मोह बढिरहेको छ । रुरुक्षेत्र गाउँ पालिका–३ का ज्ञवालीलाई अझै पनि यो व्यवसायबाट टाढा रहन मन छैन । उनको परिवारको दरिलो आम्दानी नै उखुु र गुड खेती बनेको छ । उनी भन्छन्, ‘ उख खेतीबाट राम्रै सफलता पाएँ, छोराछोरीको पढाइ खर्च, घरायसी खर्च राम्रोसँग चलेको छ, निरन्तर लागि परे फाइदा पनि राम्रै छ ।’ उखुु र गुड उत्पादनबाट उनले दाम मात्र नभई समाजमा राम्रो पहिचान समेत बनाएका छन् । ज्ञवाली यस क्षेत्रकै पौरखी उखु र गुड उत्पादक कृषक हुन् । गुल्मीको थोर्गा आफैमा पौरखी किसानी र उद्यमी भएको गाउँ हो । रुरुक्षेत्र गाउँ पालिका वडा ३ मा पर्ने थोर्गा गुुड र खुँदोको उत्पादनका क्षेत्रमा परम्परागत रुपमै अगाडि छ । अहिले पनि थोर्गाको गुण विश्व प्रसिद्ध मानिन्छ । ज्ञवालीले उत्पादन गरेको गुड छिमेकी जिल्लासँगै विदेशमा समेत पुुने गर्दछ । उनले प्रतिबर्ष १६ देखि २० टनसम्म गुणस्तरीय गुड, उत्पादन गर्ने गर्छन् । विहानदेखि साँझ अवेरसम्म उनी गुडको उत्पादनमै तल्लिन छन् । बजारमा इन्दुवरको गुड भने पछि जताततै प्रख्यात पनि छ ।

गुडबाट ज्ञवालीले मनग्य आम्दानी समेत गरेका छन् । आफ्नो उत्पादन छिमेकी जिल्ला बुुटवल, पोखरा, राजधानी काठमाडौं र आसपासका बजारका साथै देश विदेशमा निर्यात हुने गरेको उनी बताउँछन् । ज्ञवाली भन्छन् ‘ मेहनत गर्ने हो भने राम्रै छ,अझ राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने हो भने, हामी यस क्षेत्रमा खपत हुने स्तरीय गुडले आत्मनिर्भर बन्न सक्छौं, तर यतातिर सरकारको आँखा परेको छैन्,घरेलु उत्पादनलाई प्राथमिकता दिन नसक्नु आर्थिक रुपमा कमजोर हुनु हो ।’ व्यवसायिक रुपमा लागेका उनलाई घरेलु तथा साना उद्योग कार्यालय र कृषि ज्ञान केन्द्र गुल्मीले केही सहयोग गरे पनि अन्यत्रबाट भने खासै सहयोग नभएको बताउँछन् । घरेलु उद्योगहरुलाई जुन रुपमा घरेलु कार्यालय र कृषि ज्ञान केन्द्रले सहयोग गर्नुपर्ने हो त्यो भने पर्याप्त नभएको उनको भनाई छ । आफुजस्ता व्यवसायिक किसानका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्ने ज्ञवाली बताउँछन् । आफुहरुले उत्पादन अनुसार उचित बजार मूल्य पाउन नसकेको उनको गुनासो छ । उनी भन्छन् ‘ गुड उत्पादन गर्न धेरै मेहनत र खर्च लाग्छ तर त्यो अनुसार बजार भाउ छैन ।’ त्यै पनि ज्ञवालीले आफ्नो घरेलु गुड उद्योगबाट १० जनाको परिवारलाई पालेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

पछिल्लो समय यहाँका केही उखु उत्पादक कृषकहरु भने उत्पादनमा कमी आएका कारण उखु खेती छोडेर अन्य नगदेवालीतर्फ आकर्षित हुन थालेका छन् । ज्ञवालीले भने उखु खेतीलाई निरन्तरता दिइरहेका छन् । उनलाई श्रीमति, दुई छोरा बुुहारीले समेत साथ दिएका छन् । जसका कारण उनले व्यवसायिक उखु र गुड उत्पादनलाई निरन्तरता दिन सकेका हुन् । उनकोमा उखु पेल्ने मिल समेत छ । गाउँलेहरु उखु पेल्न त्यहाँ पुुने गर्छन् । यहाँ आउने अधिकांसले रस ज्ञवालीलाई नै बेचेर गोजा भरी पैसा बोकेर फर्कछन् । इन्दुवरकी पत्नी ५८ वर्षिया दुर्गा देवी ज्ञवाली पनि आफ्नो परम्परागत व्यवसायबाट सन्तुष्ट छन् । तर उनले स्थानीय सरकारले घरेलु उद्योगलाई सहयोग नगरेकोमा दुखी छन् ।

इन्दुवर भन्छन्, ‘चाडपर्व र विवाह वर्तनका बेला परम्परागत रुपमा बनाईने अर्सा, कसार र चाकुका लागि खुदोको आवश्यकता पर्छ, त्यसको बजारीकरण र व्यवसायितामा आएको कमीले गर्दा कहिले काँही त यो व्यवसाय किन थालेछु ? जस्तो पनि लाग्छ ।’ तर कुनै बेला देश विदेशबाट हुने अत्याधिक मागले उत्तिकै उत्साहित बनाउने गरेको उनी बताउँछन् । ज्ञवाली भन्छन्, ‘परम्परागत रुपमा गरिने घरेलु कृषि उद्योगलाई सरकारको अनुदान नदिने, विद्युत महशुलमा छुट नहुने, अनि विभिन्न किसिमका करले गर्दा मार परेको छ ।’ ज्ञवाली भन्छन्, ‘अन्त: शुल्क पनि लगाउँने कुरा सुन्दैछु, त्यस्ता कुरामा स्थानीय सरकारका जनताका अधिकार घर –घरमा भन्ने नाराले केही गर्न सकेनन् ।’ रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाले थोर्गामा उखु ब्लक बनाउने योजना अगाडि सारेको छ । कृषकहरुको मागको आधारमा उनीहरुलाई प्राविधिक सहयोग गर्ने, थ्रिफेसलाईन समेत जोड्ने,प्याकेजिंगसँगै लेवललिङ्ग गर्ने विषयमा पनि स्थानीय सरकारले सोचेको अध्यक्ष ज्ञवालीले बताए । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले गत आर्थिक वर्ष यहाँका व्यसायिक कृषकहरुका लागि केही मेसिनहरु सहयोग गरे पनि यस वर्ष कुनै पनि सहयोगका कार्यक्रमहरु नभएको कार्यालयका कम्युटर अपरेटर नारायण पन्थीले बताए । उनका अनुसार गत वर्ष पाँच लाख बराबरको मेसिनहरु गुड उत्पादक किसानलाई वितरण गरिएको थियो । कृषि ज्ञान केन्द्रले पनि दुुई वर्ष अघि यहाँका उखुु तथा गुुड उत्पादक कृषकहरुका लागि २२ लाख बराबरको विउ विजन, मेसिन सहित प्राविधिक सहयोग गरेको केन्द्रका कृषि प्रसार अधिकृत शिव बंजाडेले बताए । अहिले भने त्यस्तो कुनै पनि कार्यक्रम नभएको उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update