Shittalpati
धार्मिक पर्यटकीय क्षेत्रको रूपमा कटहरबारी पार्क

रामपुर (पाल्पा), रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको नजिकै रहेको पार्क परिसरलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना बनाएर पूर्वाधार विकासका काम थालिएको हो ।

अहिले पार्क परिसरमा गणेश मन्दिर निर्माण र विभिन्न जातका विरुवा रोप्न थालिएकोे छ । कालीगण्डकी नदी, तालपोखरा, गौशाला र ज्याग्दी वृहत पार्कको बीच भागमा पर्ने यस पार्कको पूरा क्षेत्रफललाई सदुपयोग गरी घुम्न र धार्मिक क्रियाकलापका गतिविधि अघि बढाउने उद्देश्यले विकासका काम सुरु गरिएको समितिका अध्यक्ष भगवती खनालले बताए । ‘प्रयोगमा नआएको सार्वजनिक जग्गालाई सदुपयोग गरी पार्कको अवधारणा अनुरुप स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा धार्मिक पार्कको रुपमा रुपान्तरण गर्ने योजना रहेको छ’, उनले भने ।

स्थानीयवासीले ल्याएको विकास निर्माणको अवधारणालाई अनुसरण गर्दै पूर्वाधार निर्माणको क्षेत्रमा वडा तथा नगरपालिकाबाट सक्दो सहयोग गर्ने वडाध्यक्ष दिवाकर देवकोटाले बताए । यो क्षेत्रको विकास हुनु नै रामपुर नगरीको मात्र नभई समग्र कालीगण्डकी वेशीका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो । करिब नांै रोपनी जग्गालाई यस क्षेत्रमा विभिन्न पूर्वाधार बनाउने योजना छ । आजभन्दा करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको यस कटहरबारी पार्कमा अझै पनि पुराना आँपका बोटहरु प्रशस्तै छन् । यस पार्कमा गाईबाख्रा चरन र गर्मीयाममा मेलापात गर्दा शित्तलताका लागि खेताला बस्ने गरेको ८६ वर्षीया विष्णुमाया देवकोटाले बताईन् । पर्यटकलाई आकर्षण गर्नसक्ने सम्भावना रहेको यस क्षेत्रको विकास समयमा नै नहुँदा सधैँ पछाडी परिरहेको उनको भनाइ थियो । कालीगण्डकीमा स्नान गरी यहाँ रहेको गणेस्थान मन्दिरमा पूजाआजा गरेर रमणीय दृश्य अवलोकन गर्दै तालपोखरा, ज्याग्दी पार्क, गौशाला पुग्न मध्यमार्गीका रुपमा यसले जोड्दछ । त्यसकारण पनि यहाँको विकासमा स्थानीयवासीले जोड दिएका हुन् । हाललाई भने पार्कमा रहेका पुराना रुखका हाँगा बिक्री वापत प्राप्त भएको ३३ हजार ५ सयबाट काम सुरु भएको छ । प्रारम्भिकरुपमा पार्कको विकास गर्न करिब १५ लाख देखि २० लाख लाग्ने अनुमान गरिएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update