Shittalpati
तानसेनमा कुक लेवल टु को तालिम सञ्चालन

पाल्पा, तानसेनमा कुकु सम्बन्धी सिटी भिटी लेवल टु को तालिम सञ्चालन भएको छ । तानसेन नगरपालिका, लुम्बिनी प्रदेश दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामार्फत शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालिले निःशुल्क कार्यगत अभ्यास सहितको दश महिने प्राफेशनल कुकु लेवल टु को तालिम सोमबारदेखि सञ्चालन गरेको हो ।

तालिमको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । तालिमको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी सिंजालीले सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न तालिममा सहभागीहरुलाई आग्रह गरेकी छन् । उनले आर्थिक रुपमा मजबुद र परिष्कृत बन्नका लागि तालिम सहयोगी बन्ने भन्दै तालिमको सहि सदुपयोग गरी व्यवसायिक बन्नुपर्नेमा जोड दिइन । उपप्रमुख सिंजालीले विदेश जाने मानसिकतालाई हटाई स्वदेशमै सीप सिकेर व्यवसायिक बन्ने सोंचका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरिन् । उनले परियोजनाले महिलाहरुलाई समेत प्राथमिकता दिएकाले त्यसको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

शिष्ट अतिथि तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले नगर सरकारले व्यवसायिक सीपलाई पहिलो प्रथामिकता दिएर काम गरेको बताए । उनले देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको आर्थिक अवस्था सुधार हुन नसकेकाले आर्थिक उपार्जनसँग जोड्ने कार्यक्रमलाई नगर सरकारले प्राथमिकता दिएको बताए । उनले तानसेनमा सीपयुक्त कुकुहरु बाहिरबाट ल्याइ रहनुपरेको अवस्थालाई अन्त्य गर्न तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराईले तालिममा सिकेका कुराहरुलाई स्वदेशमै प्रयोग गर्न आग्रह गरे । उनले समय र लगानीलाई सहि सदुपयोग गर्न सके व्यवसायिक बन्न सकिने बताए । कार्यक्रममा पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसाय संघका महासचिव लक्ष्मण बस्याल, पाल्पा व्यापार संघका सदस्य बालकृष्ण भण्डारी लगायतले सीप सिकेर व्यवसायिक बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक वर्ष सिटीभिटी र स्थानीय सरकारको सहयोगमा सीपमूलक तालिमहरु सञ्चालन गरिदै आइएको इन्ष्टिच्यूटका संयोजक कमल प्रसाद भट्टराईले बताए । उनले प्रोफेशनल कुक लेवर टु को तालिम १६ सय ९६ घण्टाको हुने बताए । इन्ष्टिच्यूटका संयोजक कमल भट्टराईको अध्यक्षता, बलबहादुर उचैको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update