Shittalpati
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित

कृष्ण पोखरेल/रमेश विश्वकर्मा
पाल्पा, तलव वृद्धिमा विभेद गरिएको भन्दै पाल्पा, गुल्मी सहित देशभरका असन्तुष्ट नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पा र गुल्मीका नायव सुब्बा सरहका कर्मचारी समेत आन्दोलनमा उत्रिएका छन् । पाल्पाका नायव सुब्बाहरुले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा मंगलबार विहान ११ बजेदेखि १२ सम्म धर्ना दिएका थिए । नासु सरहका कर्मचारीहरुलाई १५ प्रतिशत वा सो भन्दा माथिका कर्मचारीहरुलाई २६ प्रतिशतसम्म तलव वृद्धिको तयारी भईरहेको अवस्थामा सो कार्यको विरोध गर्दै पाल्पासहित देशभरका नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पाल्पा, नेपाल निजामती कर्मचारी संगठन पाल्पा, नेपाल निजामती कर्मचारी युनियन पाल्पा र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती पाल्पामा आवद्ध सयौं नायव सुब्बाहरु असमान तलव व्यवस्थाको खारेज गर्दै बजेटमा प्रस्तुत समान हैसियतमा तलव कायम हुनुपर्ने माम राखेका छन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष मनोज आचार्य, कर्मचारी संगठन पाल्पाका अध्यक्ष युवराज ज्ञवाली, कर्मचारी युनियनका अध्यक्ष रवी अर्याल र कर्मचारी संगठन निजामती पाल्पाका अध्यक्ष श्रीराम रावलले अर्थमन्त्रीले असमान तलव व्यवस्था खारेज नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् । मंगलबार हामीले एक घण्टा मात्र धर्ना दिएका छौ भोलिका दिनमा कार्यालयको सबै काम काज ठप्प पारी चरणबद्ध आन्दोलनमा उत्रिने कर्मचारी संघ, संगठन तथा युनियनका नेताहरुले चेतावनी दिएका छन् । आन्दोलनमा उत्रिएका नासुहरुले संघीय निजामती सेवा ऐनको मस्यौदामा अधिकृत पदको पदपूर्तिका लागि विभेदपूर्ण व्यवस्था राखिएकाले सच्चाउन माग गरेका छन् । उनीहरुले अधिकृत पदमा खुल्लाबाट ५० प्रतिशत, बढुवाबाट ३० प्रतिशत र आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत पदपूर्तिको व्यवस्था संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने माग गरेका छन् । निजामती ऐनमा खरिदार र अधिकृतहरुका लागि माथिल्लो पदमा प्रतिस्पर्धाको आन्तरिक प्रतिस्पर्धाको व्यवस्था राखिएको तर नासुहरुलाई नराखिएकाले सच्चाउनु पर्ने माग गरेका हुन् ।

उता गुल्मीमा पनि निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीको मूल प्रवेशद्वारमा नै एक घण्टा धर्ना दिएका छन् । नेपाल सरकारबाट प्रस्तावित संघीय निजामति सेवा ऐन र तलब समायोजनमा राजपत्र अनंकित कर्मचारीहरुको तलब सुविधा तथा वृत्ति विकासका सम्बन्धमा गरिएका विभेदपूर्ण र असमान व्यवस्था प्रतिको विरोध गरिएको निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष खिम बहादुर अधिकारीले बताए । उनले सबैलाई समान रुपमा तलब वृद्धि हुनुपर्नेमा असमान ढ·बाट तलब वृद्धि भएको भन्दै आपत्ति जनाए । गुल्मी जिल्लाका राजपत्र अनंकित कर्मचारीहरुले आफु कार्यरत कार्यालयबाट बिदा लिएर प्रशासन कार्यालयमा धर्ना दिइएको निजामती कर्मचारी युनियनका अध्यक्ष मेघलाल पाण्डेले जानकारी दिए । उनले असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा धर्ना दिएको बताए । विभिन्न नाराहरु लेखिएका पम्पलेट लिएर कर्मचारीहरुले धर्ना दिएका थिए । राजपत्र अनंकित कर्मचारीहरुको लागि वृत्ति विकासको अवसर खुल्ला गर, राजपत्र अनंकित कर्मचारी माथिको विभेदपूर्ण तलब समायोजन खारेज गर, संघीय निजामती सेवा ऐनमा हाम्रा माग समावेश गरियोस्, संघीय निजामती सेवा ऐन तुरुन्त जारी गर लगायतका नाराहरु लेखिएका पम्पलेटहरु साथमा राखिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update