Shittalpati
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’

रामचन्द्र रायमाझी
पाल्पा, नेपालको सन्दर्भमा आदिवासी समुदायको संघर्ष, आन्दोलन, विद्रोहको इतिहास लामो छ । कतिपय संघर्ष र आन्दोलनहरू एकल समुदायस्तरका थिए, तर पछिल्लो कालखण्डमा यस किसिमका आन्दोलनहरू सामूहिक, संयुक्त र राष्ट्रिय तहका रहे । विशेषतः आदिवासी जनजातिहरूको केन्द्रीय छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको गठनपश्चात् भएका यावत् संघर्ष र आन्दोलनहरू संगठित र सामूहिक स्तरमा थिए । यसको इतिहास तीन दशक नाघेको छ । शान्तिपूर्ण जनआन्दोलन, जनविद्रोहदेखि सशस्त्र संघर्षको मोर्चासम्ममा आदिवासीहरू सक्रिय सहभागी रहे ।

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणमा आदिवासीहरूको भूमिका अग्रपंक्तिमा नै रह्यो । तर अझै पनि आफ्ना अधिकारहरु सुनिश्चित हुन नसकेको भन्दै आदिवासी महासंघ संघर्षमै छ । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै आफुहरु अधिकार प्राप्तिको संघर्षमै रहेको नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहर सिंह राना मगरले बताए । उनले एनजेडीसँगको कुराकानीमा नेपालको संविधानले समावेशीतालाई समेट्न नसकेको बताए । अध्यक्ष रानाले भने ‘केही जातिहरुको नाममा आयोग गठन गरिएको छ तर आदिवासी जनजातिलाई भने वेवास्ता गरिएको छ, यो गलत हो ।’ ‘२०७२ को संविधानको हामी विरोधी होइनौं तर संविधानमा भएका केही कुराहरु संशोधन गर्नुपर्छ भन्ने मात्र हो’ उनले भने । लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रम मार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब दिइने बताए । ‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौं । तर, हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले हामीले मनाउने उत्सवहरु मार्फत पनि हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौं, देखाउन चाहन्छौं,’ उनले भने ।

पाल्पामा आदिवासी दिवस मनाइँदै नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले २८ औं विश्व आदिवासी दिवस मनाउन लागेका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा विश्व आदिवासी दिवस मनाउन लागिएको हो । महासंघ जिल्ला समन्वय परिषद्ले तानसेनमा पत्रकार सम्मेलन गरी यस वर्ष पनि विगतका वर्षहरु जस्तै विभिन्न कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाउन लागिएको जानकारी दिएको छ । दिवसको अवसरमा यस वर्ष महासंघले साउन २३ गते सचेतिकरणका लागि युवाहरुलाई सशक्तिकरण एवं संगठनात्मक प्रशिक्षण कार्यक्रम गरेको छ । महासंघले २४ गते अर्थात् आज भव्य समारोहका बिच विभिन्न कार्यक्रमहरु गर्दैछ । मूल समारोहले कार्यक्रमहरुको विषय, स्थान र समयसमेत सार्वजनिक गरेको छ । विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् । यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझाव अनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन २८ औं वर्ष पुगेको छ ।

नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । ०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानले नेपालमा उत्पीडित जातजाति, भाषाभाषीहरू आफ्नो सामूहिक हक अधिकारका निम्ति संगठित हुने, मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्ने, परम्परागत संस्कार संस्कृतिहरूको उजागर गर्ने अधिकार दिएपछि जातीय संस्थाहरु खुल्ने क्रम सुरु भयो । तिनै जातीय संस्थाहरू एकीकृत पहलमा २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ गठन भयो । पछि सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गर्‍यो । सोही ऐनअनुसार ५९ थरी आदिवासी जनजातिलाई सूचीकृत गरिएको छ । महासंघअन्तर्गत महिला, युवा, विद्यार्थी, पत्रकार, वकिल, चलचित्र, मजदुर र फरक क्षमता भएका शारीरिक रूपले अशक्त गरी ८ वटा महासंघीय सम्बन्धन संस्थाहरू सम्वद्ध छन् । त्यसैगरी महासंघ अन्तर्गत २३ भन्दा बढी विदेश शाखाहरू क्रियाशील छन् । हाल महासंघमा ५६ आदिवासी जनजातीय सदस्य संगठनहरू आवद्ध रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update