Shittalpati
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा

तम्घास, जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् ।

पाल्पाको रम्भा गाउँपालिका–४ की नविना सूर्यवंशीले ढुङ्गाखानीमा गिट्टी कुट्न थालेको १२ वर्ष भयो । एक ट्याक्टर गिटी कुटेबापत उनले तीन हजार २ सय कमाउँछिन् । श्रीमानसँगै गिटी कुटेर उनले दुई छोरा पढाउँदै आएकी छन् । गिट्टी कुट्दाकुट्दै माथिबाट ढुङ्गा खसेका थुप्रै दुःखद् अनुभव उनीसँग छन् । त्यसैमाथि चस्मा, पञ्जा, हेलमेट नहुँदा झनै जोखिम थपिएको छ । ‘गिट्टी कुट्दा ढङ्गा उछुट्टिएर आँखामै लाग्छ’, उनले भने, ‘चस्मा त आफैँ किनेर लगाउँ लगाउँ हुन्छ ।’ सूर्यवंशी मात्र होइन बागलुङ बुर्तिबाङकी टेकमाया परियारले पनि कुनै सुरक्षाका सामग्री पाएकी छैनन् । उनी पाँच वर्षदेखि ढङ्गाखानीमा कार्यरत छन् । श्रीमान् श्रीमतीले गिट्टी कुटेर छोरा र छोरीलाई दुविचौरस्थित घोर्ले माविमा पढाएका छन् । दुई जनाले गिटी कुट्दा महिनाको १० हजारजति आम्दानी हुन्छ । त्यही रकमबाट उनीहरुले जीविकोपार्जन गर्दै आएका छन् । तर उनीहरुले अहिलेसम्म कुनै सुरक्षाका सामग्री पाएका भने छैन । ‘पञ्जा पनि छैनन्, चस्मा पनि छैनन्, न त हातमा लगाउने ग्लोब नै दिएका छन्’, परियारले भनिन्, ‘हामी दुःखी, गरिबलाई कसले हेर्छ र ?’ उनले पाँच वर्षकी छोरीलाई गिटी कुट्ने ठाउँको नजिकै राख्छिन् ।

विद्यालय सञ्चालन हुँदा पठाउँछिन्, अन्य समयमा आफूसँगै राख्छिन् । छोरीले दुविचौरस्थित कक्षा १ मा पढ्छिन् । ‘छोराछोरीको भाविष्य बन्छ कि भनेर गिटी कुट्दै छु’, उनले भनिन्, ‘जसोतसो काम त गर्नैप¥यो ।’ रेसङ्गा नगरपालिका–१२ का सन्तबहादुर बस्नेत आफँै खानी सञ्चालक हुन् । उनी विगत १५ वर्षदेखि ढुङ्गाखानीमा काम पनि गर्छन् । तर उनलाई आफू सुरक्षित हुने विषयमै मतलव छैन । कामदारका विषयमा चासो हुने कुरै भएन । माथि जोखिम र जंगल भएकाले अब खानी बन्द हुने सम्भावना भएको उनले बताए । ‘घाम चर्किंदा र पानी दर्किंदा पहिरो खस्छ । पलपलमा जोखिम देखेका छौँ’, उनले भने, ‘अब खानी नै बन्द हुँदैछ ।’ दुविचौरमा सञ्चालन गरिएको ढङ्गाखानी जिल्लामै ठूलो हो । पहिले पहिले ३ सयसम्मले काम गर्ने गरेकामा अहिले दैनिक ६० जनाले काम गर्छन् । केही समयअघि पहिरामा परी घाइते भएका रेसङ्गा नगरपालिका–१२ का गुनबहादुर गुरुङको ज्यान नै गएको थियो । साथै खानीले नजिकको बस्तीलाई समेत असर गरिरहेको गुनासो आउने गरेको छ । श्रमिकले सुरक्षाका सामग्रीबारे सरकारले पनि ध्यान दिएको छैन । वडाध्यक्ष चेहरसिंह टन्डनले निर्वाचनपछि आफू ढाखानी नगएको स्वीकार गरे । ‘गत वर्ष एकपटक सुरक्षा सामग्री बाँडेको हो, अहिले लगाउन छोडे होलान्’, टन्डनले भने, ‘म भोलि नै खानीमा जान्छु ।’ –रासस

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update