Shittalpati
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया

पाल्पा, तानसेनमा रहेको बालमन्दिर प्राथमिक विद्यालयले बालमैत्री सिकाईका लागि अभिभावकहरुसँग अन्तक्र्रिया गरेको छ । विद्यालयले बालमैत्री सिकाई थप प्रभावकारी र गुणस्तरी बनाउन अभिभावकसँग अन्तक्र्रिया गरेको हो । कार्यक्रममा अभिभावकहरुले बालबालिकाहरुको रुची, चाहाना र आवश्यकतालाई ध्यानमा राखेर पठन पाठन गराउनुपर्नेमा जोड दिए । उनीहरुले बालबालिकाहरुको सिकाईमा बालमन्दिर प्राविले खेलेको भूमिका अत्यन्त प्रशंसनिय रहेको भन्दै आगामी दिनमा अझ सिकाइलाई बालमैत्री बनाउन बालबालिकाहरुको क्षमता र रुचीलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले पछिल्लो समय समस्याको रुपमा देखिको बालबालिकाको मोबाइल प्रतिको आकर्षण, पढाई प्रतिको बेरुची, समस्या र सामाधानका विषयमा समेत बालमन्दिरले ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयको भौतिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । पाल्पा दरबार संग्राहलयको आडैमा रहेको बालमन्दिरको खेल मैदान, खेल सामग्री र शैक्षिक सामग्री व्यवस्थापनको पाटोलाई समेत ध्यान दिन सके बालबालिकाहरुको सिकाईमा थप सहजता ल्याउन सकिने अभिभावकहरुले बताए । कार्यक्रममा बालमन्दिर प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकालले विद्यालयको भौतिक वातावरण व्यवस्थापनलाई चुस्तदुरुस्त पार्न आफू र समिति गम्भिर भएर लागेको बताए । कार्यक्रममा अभिभावकहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको सम्बोधन गर्दै विद्यालका प्रधानाध्यापक पार्वती पौड्यालले विद्यालयमा सिकाईका क्रममा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै बालबालिकाको पूर्ण सिकाईका लागि आफुहरु प्रतिवद्ध भएर लागेको र आगामी दिनमा पनि लाग्ने बताइन् । कार्यक्रममा अभिभावक समितिका अध्यक्ष हुमा सुर्यवंशीको अध्यक्षता र शिक्षिका ममता अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । पछिल्लो समय बालमन्दिर प्राविमा बालबालिकाहरुको आकर्षण बढ्दै गएको छ । यहाँ पारिवारिक वातावरणमा महिला शिक्षकहरुले सिकाउँदै आएकाले पनि बालबालिकाहरुको रोजाईमा अहिले बालमन्दिर पर्ने गरेको हो । यहाँ बाल कक्षादेखि तीन कक्षा सम्म पढाई हुँदै आएको छ । अहिले विद्यालयमा दुई सय बालबालिकाहरु अध्ययन गर्दै आएका छन् भने छ जना शिक्षिका र तीन जना सहयोगी कर्मचारी कार्यरत छन् । पारिवारिक वातावरणमा खेल्दै सिक्न पाउने, विद्यालयमै पकाएको स्वच्छ, ताजा खाजा खान पाउने हुँदा पनि बालबालिका विद्यालयमा जान पाउँदा अत्यन्त उत्साहित हुने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update