Shittalpati
पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो :  तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, पछिल्लो तीन वर्ष यता जिल्ला प्रहरी कार्यालय पाल्पामा अपराधिक मुद्दा दर्ताको संख्यामा कमी हुँदै गएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको तथ्याङ्कलाई हेर्दा यहाँ मुद्दा दर्ता घट्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयमा यो समयमा विभिन्न प्रकृतिका ७ सय ७७ मुद्दा दर्ता भएका छन् । जसमा ४ सय ६३ वटा मुद्दा फछर्योट भएका छन् भने ३ सय १४ वटा मुद्दा फछर्यौट हुन बाँकी रहेका छन् ।

कार्यालयले शनिबार पत्रकार सम्मेलन नै गरी जिल्लामा दर्ता भएका मुद्दा र फछर्यौटको अवस्था, शान्ती सुरक्षा कायम गर्न भएका प्रयास गतिविधिका विषयमा जानकारी गराउदै मुद्दा दर्तामा कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न ४१ वटा अपराधिक घटनामा २ सय ४४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय ७५ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा २ सय ५८ मुद्दा दर्ता भएका थिए । तीन वर्षको तथ्याड्ढलाई हेर्दा हरेक वर्ष मुद्दा दर्ताको संख्या घटेको देखिन्छ भने फछ्र्यौट संख्या भने कम देखिन्छ । यहाँका आर्थिक २०७६/०७७ मा फछ्र्यौटको संख्या २ सय ७२ देखिन्छ भने २०७७/०७८ र २०७८/०७९ मा क्रमशः १ सय १२ र ७९ मात्र देखिन्छ । यो तथ्याड्ढलाई हेर्दा हरेक वर्ष मुद्दाको आधारमाफछर्यौट हुन नसकेको देखिन्छ ।

यहाँका अधिकांस मुद्दाहरु भवितव्य ज्यान, फुटकर ज्यान, विष सेवन, झुण्डिएर मृत्यु भएका मुद्दाहरु भएकाले पनि फछर्योट हुन नसकेको देखिन्छ । यस्ता प्रकृतिका मुद्दाहरु दर्ता भएको दुई वर्षसम्म अनुसन्धानमै रहने भएकाले फछ्र्यौटको क्षेत्रमा केही कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षको अवधिमा कर्तव्य ज्यानको संख्या बढेको छ भने ज्यान मार्ने उद्योगको अवस्था भने घटेको छ । भवितव्य ज्यान र फुटकर ज्यान जानेको अवस्था प्रत्येक वर्ष बढेको देखिन्छ । यहाँ आत्महत्याको अवस्थामा भने खासै कमी आएको छैन । आर्थिक वर्ष २०७६/०७७मा ७० जना, २०७७/०७८ र २०७८/०७९ मा क्रमशः ७२ र ६२ जनाले आत्महत्याका घटना दर्ता भएका छन् । आर्थिक अवस्था, मानसिक र प्रेम सम्बन्धका कारण अधिकासं आत्महत्याका घटना घट्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शाहीले बताए । जवरजस्तीकरणीका घटना भने प्रत्येक बर्ष बढ्दै गएका छन् । अघिल्लो दुई आर्थिक वर्षमा १७/१७ वटा जवरजस्ती करणीका घटना दर्ता भएकोमा गएको बर्ष २४ वटा घटना दर्ता भएका थिए । प्रहरीले यस वर्षदेखी आत्महत्या गर्न बाध्य बनाइएका दुई जना व्यक्तिलाई भने पक्राउ गरी कारागार चलान गरेको छ । सवारी ज्यान मुद्दामा कमी आएको छैन । यहाँ अघिल्लो दुई आर्थिक वर्षमा २०/२१ वटा घटना दर्ता भए पनि आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा घटना दर्ता भएका छन् । मानव बेचविखन, जातिय भेदभाव, बोक्सीको आरोप विस्पोटक पदार्थ, शरीर बन्धक, अपमानजनक व्यवहारमा भने जिल्ला प्रहरी कार्यालय पाल्पामा कुनै उजरी तथा मुद्दा दर्ता भएका छैन । जिल्लामा जुवा तासका घटना बढे पनि प्रहरीले गएको दुई आर्थिक वर्षमा एक जनालाई पनि पक्राउ गर्न सकेको छैन । मानिसले जानी जानी, आर्थिक प्रलोभवन तथा नियत बस नै मानिसको हत्या गर्ने प्रवृत्ति भने बढेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ४१ वटा अपराधका शीर्षक अनुसार मुद्दा चलाउँदै आएकोमा २१ वटा विषयबस्तुमा मुद्दा दर्ता भएको र २० वटा मुद्दा दर्ता नभएको जनाएको छ ।

पाल्पाका १० वटा पालिका मध्ये सबैभन्दा बढी अपराधजन्य घटना रामपुर नगरपालिका, तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा हँुदै आएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । अपराधजन्य घटना न्यूनिकरणका लागि प्रहरी साझेदारी कार्यक्रमसँगै सचेतनाका कार्यक्रमहरु गर्दै आइएको डिएसपी थापाले बताए । प्रहरीले आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरी थप सचेतनाका कार्यक्रमहरु अगाडि बढाउने भएको छ । जिल्ला प्रहरी कार्यालयले अपराधिक घटना न्यूनिकरणका लागि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम योजना २०७९’ समेत सार्वजनिक गरेको छ । उसले चालुआर्थिक वर्षदेखि नै जिल्लाका सबै स्थानीय सरकारहरुसँग समन्वयन गरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउन कार्ययोजना पुस्तक नै निकालेको छ । उक्त पुस्तक समेत कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, पत्रकारहरु मिलन विश्वकर्मा, कृष्ण काकी, रामचन्द्र रायमाझी लगायतले प्रहरीले दिने सूचना छिटो छरितो र विश्वसनिय बनाउनुपर्ने, प्रहरी जनतामैत्री र सूचनामैत्री बन्नुपर्ने सुझाव दिएका थिए । पत्रकारहरुले दिएका सुझावहरुलाई आफुहरुले आत्मसाथ गर्दै कार्यान्वय गर्ने प्रहरी प्रमुख शाहीले प्रतिवद्धता व्यक्त गरे । पत्रकार भेटघाट तथा बार्षिक प्रगती समिक्षा कार्यक्रममा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले वार्षिक गतिविधी प्रस्तुत गरेका थिए भने प्रहरी सहायक निरीक्षक गणेश बहादुर विकको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update