Shittalpati
श्रीनगर यातायातका चालकलाई सचेतना

पाल्पा, जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिन थालिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा लि अन्तर्गतका सवारीचालकलाई सचेतना सम्बन्धी तालिम दिइएको हो । कम्पनीले ट्राफिक प्रहरी कार्यालय पाल्पाको प्राविधिक सहयोगमा सवारी चालकलाई सचेतना अभिवृद्धीका लागि सडक सुरक्षा सतर्कता सम्बन्धी प्रशिक्षण दिएको छ । कम्पनीको प्रधान कार्यालय तानसेनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक दामोदर मल्लले चालकहरुलाई शनिबार प्रशिक्षण दिए हुन् ।

कम्पनीले आगामी दिनदेखि हरेक महिना चालकहरुलाई सचेतनाका लागि प्रशक्षिण दिदै जाने जनाएको छ । कम्पनीका अध्यक्ष डिलबहादुर ढुङ्गानाले दुर्घटना बढ्नुमा चालकको लापरवाही कारक बनेको भन्दै त्यसलाई न्युनीकरण गर्न चालकहरुलाई प्रशिक्षण दिइएको बताए । सडकमा हुने लापरवाहीले दुर्घटना बढेकाले यसको नियन्त्रण गर्न चालक नै जिम्मेवारी हुनुपर्ने उनले बताए । चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेकाले चालकहरुलाई जिम्मेवार हुन अध्यक्ष ढुंगनाले आग्रह गरे । उनले सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न सके मात्र सार्वजनिक यातायातको यात्रा सुरक्षित बनाउन सकिने बताए ।

प्रशिक्षणमा ट्रनफिक प्रमुख मल्ले दुर्घटना न्यूनीकरणका लागि चालकलाई सडक सुशासन, लेन अनुशासन, सवारीसाधन चलाउने तरिका, नियमको पालना, सवारी पार्किङ, ट्राफिक बत्ती एवं संकेत, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सवारीसाधनको अवस्था, ट्राफिक व्यवस्थापन, सवारी तथा यातायात व्यवस्था ऐनमा मा रहेको कानुनी प्रावधान लगायतका बारेमा चालकलाई सैद्धान्तिक प्रशिक्षण दिएको कम्पनीका कार्यालय प्रमुख भविन्द्र गौतमले बताए । यस्तै कार्यक्रममा सिट क्षमता अनुसार यात्रु चढाउन, यात्रुलाई टिकटको अनिवार्य ब्यवस्था गर्न, निर्धारण भएको भन्दा धेरै भाडा नलिन कार्यालय प्रमुख गौतमले चालकलाई आग्रह गरे । पाल्पामा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना चालकको लापरवाहीले हुने गरेका छन् । गएको बर्षमात्र जिल्लामा ठूला प्रकृतिका ६५ वटा दुर्घटना भएका छन् । जसबाट २५ जनाले ज्यान गुमाए भने ९० जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटना कम गर्दै लैजान र अस्तव्यस्त रहेको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने चालक सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास लिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update